समाज


प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिन्छ: गौरीबहादुर कार्की

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा के छ?
प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिन्छ: गौरीबहादुर कार्की

नेपालखबर
फागुन २४, २०८२ आइतबार १३:३३, काठमाडौँ

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। 

त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देखेको हो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। 

‘भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ,’ उनले भने। 

सरकारको कुशासनको कारण भदौ २३ गते जेनजी आन्दोलन भएको उनले बताए। 

‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ,’ उनले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’ 

आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए। 

अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषय प्रतिवेदनले उल्लेख गरेको बताए। 

‘प्रतिवेदनमा समिटिएका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्छ,’ उनले भने। 

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन्। 

‘तपाईँहरूले एकदमै मेहनत गर्नुभएको छ। यसका लागि धन्यवाद छ। सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ,’ उनले भनिन्, ‘पछि समय पनि थप्नुपर्ने भयो। तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईँहरुको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ।’

उनले आआफ्नो क्षेत्रमा ख्याती कमाएका दिग्गज व्यक्तिहरुले तयार गरेकाले त्यसको प्रतिविम्ब प्रतिवेदनमा समेटिएकोमा आफू विश्वस्त भएको पनि बताइन्। 

‘आ-आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ। त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ,’ उनले भनिन्, ‘अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad