आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस प्रदेशको थोरै स्थानहरुमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यस क्रममा अपराह्नपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।
‘अपराह्नपछि अर्थात् साँझपख काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘अचेल दिनभरि बादल जम्मा हुने र साँझपख वर्षा हुने मौसम छ।’
उनका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाश बादलले भरिएको छ भने हुस्सु पनि लागेको छ।
‘हुस्सुका कारण अहिले यहाँको भिजिबिलिटी १५ सय मिटर मात्र छ। दिउँसो पनि तुवाँलो लाग्ने गरेको छ। आज पानी पर्यो भने केही सुधार होला कि’, मौसमविद् महर्जनले भनिन्।
मौसम महाशाखाका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधरणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल देखिनेछ।
यस क्रममा राति कोसी प्रदेशका केही स्थान, मधेसलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान, बागमती र गण्डकी प्रदेशको तराई भूभागलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सम्भावना छ।

काठमाडौँसहित देशका धेरै स्थानमा तुवाँलो
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्दा तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेका कारण पर्याप्त वर्षा हुन सकेको छैन।
जसका कारण प्रदूषण वायुमण्डलको तल्लो तहमै जम्मा भएर रहँदा केही दिनदेखि देशका धेरै स्थानमा तुवाँलो लागिरहेको हो।
आज (बिहीबार) देखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने तथा देशका केही ठाउँमा क्षणिक वर्षा हुने सम्भावना रहेकाले मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
यसैबिच महाशाखाले तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन आम नागरिकलाई सुझाव दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणाली निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

Shares

प्रतिक्रिया