समाज


लेबनानमा नेपाली शान्ति सेनाको निवास गोलाबारीले ध्वस्त, सैनिक बंकरमा सुरक्षित

लेबनानमा नेपाली शान्ति सेनाको निवास गोलाबारीले ध्वस्त, सैनिक बंकरमा सुरक्षित

नेपालखबर
चैत १, २०८२ आइतबार २०:१०, काठमाडौँ

संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) को लेबनानस्थित नेपाली सेनाको बटालियन हेडक्वार्टर परिसरमा इजरायलले हवाइ आक्रमण गरेको छ। 

आक्रमणबाट नेपाली शान्ति सैनिकको निवासमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकहरूको सामानमा पनि नोक्सानी भएको छ।

नेपाली सेनातर्फ कुनै मानवीय क्षति भने नभएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

‘सम्पूर्ण फोर्स बंकरमा रहेका कारण सुरक्षित छ। गोलाबारी कहाँबाट भयो, कसरी भयो, कसले गर्‍यो भन्ने विषयमा यूएनले छानबिन गरिरहेको छ,’ सहायक रथी बस्नेतले भने।

लेबनानमा ५ सयभन्दा बढी नेपाली सैनिक कार्यरत छन्। आक्रमण भएको स्थान बटालियन हेडक्वार्टर हो। यो बटालियन अन्तर्गत विभिन्न पोस्टहरू छन्। 

अहिले त्यहाँ रहेका नेपाली शान्ति सैनिकहरू प्राय बंकरमै बस्ने गरेका छन्। आफ्नो फौज बंकरमा सुरक्षित रहेको सेनाले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार राति दक्षिणी लेबनानमा इजरायली सेनाले निरन्तर आक्रमण गरेको थियो। त्यसक्रममा कयौँको मृत्यु भएको जनाइएको छ।

इजरायलले लेबनानको दक्षिणी सीमावर्ती क्षेत्रका बिन्त जबेल, तटीय सहर गाजिह लगायतका ठाउँमा आक्रमण गरेको थियो। इजरायली गोला दक्षिणी लेबनानी सीमावर्ती गाउँ मेस अल जबालमा रहेको युनिफिलको नेपाली बटालियन परिसरभित्र पनि खसेको थियो। 

बेरुतस्थित नेपालको मानार्थ वाणिज्य दूतावासले आक्रमणको कडा निन्दा गर्दै कुनै पनि नेपाली सैनिक घाइते नभएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। तर संयुक्त राष्ट्र संघीय शान्ति सेनाको स्थानलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad