नारायणगढ-मुग्लिन सडकखण्डको ४३ ठाउँमा पहिरोको जोखिम रहेको एक अध्ययनले देखाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिम, २२ ठाउँ जोखिम र १३ ठाउँमा पहिरोको सामान्य जोखिम छ। कार्यालयले गरेको अध्ययनले पहिरोको उच्च जोखिम देखिएको ठाउँ तुइन खोला पनि हो।
कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन्। यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिम देखिएको उनले बताए।
“तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ। तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ। चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ। मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ”, इञ्जिनियर घिमिरेले भने।
साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायतका ठाउँमा पनि पहिरोको जोखिम देखिएको छ।
गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम सुरु भएको हो।
कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ। विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्याएको उहाँले बताउनुभयो । ती ठाउँमा विपद्मार्फत विनियोजित रु २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको छ।
प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि रु २० करोड बजेट विनियोजन भएको छ।
बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उनले नक्साङ्कन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए। वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ।
केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो। भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ।
यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्। राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ।
Shares

प्रतिक्रिया