नेपाल बार एसोसिएसनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ।
‘महिलाको समानुपातिक समावेशिताः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते सञ्चालन हुने आयोजकले जनाएका छन्।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्यतामा हुने उक्त सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
भक्तपुरमा आयोजना हुने उक्त सम्मेलनमा देश भरका महिला कानुन व्यवसायीहरूको सहभागिता हुने नेपाल बार एसोसिएसन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतुले जानकारी दिए। उनका अनुसार सम्मेलनमा बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरूका साथै नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।
भक्तपुरमा हुने उक्त सम्मेलनले नेपालमा महिला अधिकार तथा ‘महिलाको समानुपातिक समावेशिताः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको उनले जानकारी दिए।
यस्तै, कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बारका सचिव अनीश सुवालले जानकारी दिए।
६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभातफेरी निकालेर कार्यक्रमको सुरु गरिने छ। प्रभातफेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उनले जानकारी दिए।
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ।
सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ।
Shares

प्रतिक्रिया