बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको सल्यानको कालीमाटी क्षेत्रमा नरभक्षी बाघको आतंकले सीमा नाघेको छ। निकुञ्जबाट निस्किएको बाघले यसपटक किसानको गोठ नै रित्याउने गरी आक्रमण बढाएपछि स्थानीय बासिन्दा हिँडडुल गर्न समेत डराउन थालेका छन्।
सल्यानको कालीमाटी क्षेत्रका दुई जनाको ज्यान लिइसकेको बाघले यसपटक गोठ नै रित्याएपछि गाउँले भन्छन्– अब त घरबाहिर निस्कनै डर भयो ।
चैत ३ गते दिउँसो कालीमाटी गाउँपालिका–३ साठीघरेका किसान सागर रेउलेका ९ वटा बाख्रा बाघले एकै चिहान बनाएको हो। धनारी सामुदायिक वनमा चर्न गएका बाख्रामाथि बाघले आक्रमण गरेको थियो। २ वटा खशी घाइते छन्, एउटा हराइरहेछ।
पीडित किसान रेउले भन्छन्, 'म खोलामा जाली हान्ने काममा गएको थिएँ, घरबाट श्रीमतीले रुँदै फोन गरेपछि मात्र थाहा पाएँ। मेरो त उठिबास नै भयो।'
बस्तीमै पस्छ बाघ, रेड जोनमा कालिमाटी
बाघको यो उपद्रो सल्यानका लागि नौलो भने होइन। फागुन अन्तिम साता मात्रै शारदा नगरपालिका–९ सुनाचौरमा बाघले ८ वटा बाख्रा मारेको थियो। यसअघि कालीमाटीकै वडा नम्बर ६ र ७ मा बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन्।
निकुञ्जको सिमानाबाट बाघ सिधै बस्ती र सामुदायिक वनमा पस्न थालेपछि कालीमाटीका साठीघरे, धनारी र आसपासका क्षेत्र 'रेड जोन' बनेका छन्। पछिल्लो समय बाघले दिउँसै आक्रमण गर्न थालेपछि बालबालिका र वृद्धवृद्धालाई घरबाहिर निकाल्न समेत जोखिम बढेको स्थानीयको गुनासो छ।
कालीमाटी–३ का वडाध्यक्ष शिवबहादुर खत्रीले वन्यजन्तु क्षति राहत निर्देशिका अनुसार पीडितलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको बताए।
Shares

प्रतिक्रिया