सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताएकी छन्।
शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले बलात्कारका मुद्दामा ‘लोकेसन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उनले जानकारी दिइन्। उनले अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गरिन्।
मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परीक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पुर्याएको उनको भनाइ थियो।
न्यायाधीश मल्लले भनिन्, ‘एउटा बालिका बलात्कृत भई। र त्यो बालिका बलात्कृत भएपछि शुरुदेखि नै मुद्दामा के आयो भन्दाखेरि उसको मुखमा बलात्कार गरियो मुखमा बलात्कार गरियो भन्यो। तर इन्भेस्टिगेसन गर्दाखेरि र मेडिकल रिपोर्ट माग्दाखेरि स्वास्थ्य परीक्षण गर्न पठाउँदाखेरि योनी परीक्षण गर्न पठाइयो। मुखमा बलात्कार भयो भनेको छ योनि परीक्षण गर्न पठाएको छ।’
उनले थपिन्, ‘कानुनहरू परिवर्तन भएका छन्। तर त्यसको जानकारी र त्यसको सशक्तता कानुन व्यवसायी र अदालतलाई मात्र भएर पनि पुग्दैन रहेछ। सम्पूर्ण अनुसन्धान प्रणालीहरुलाई पनि र त्यसदेखि फरेन्सिकमा पनि त्यो खालको एउटा सचेतनाको कार्यक्रमहरु पनि चाहिन्छ।’
पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उनले उल्लेख गरिन्।
न्यायाधीश मल्लले भनिन्, ‘एउटा महिला हिंसामा परी बलात्कृत भई र बलात्कृत भइसकेपछि जब उसलाई उसले कहाँ बलात्कार भयो भन्ने कुराको स्थान भन्न नसकेकोले मुद्दा हार्दै गएको थियो। र हामीले स्थापित गर्यौं, एउटा नयाँ सिद्धान्त स्थापित गर्याैं। बलात्कारको लागि तिमी लोकेसन अथवा कहाँ अपराध भयो त्यो क्राइम सिन भएको ठाउँ हेर्न पर्दैन महिलाको शरीर आफैँ नै हिंसाको स्थल हो भन्ने कुरा अथवा वारदात स्थल हो भन्ने कुरा पनि हामीले स्थापना गर्यौं नि।’
कुनैपनि हालतमा हिंसामा परेका महिला र बालिकाहरूको न्यायका लागि कसर बाँकी नराख्ने प्रतिवद्धता उनले व्यक्त गरिन्।
Shares

प्रतिक्रिया