हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (आइतबार बिहान) गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि तराई तथा उपत्यकाका थोरै स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
राति : देशको हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ र बाँकी स्थान र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकाको आकाशमा पनि आंशिक बादल लागे पनि वर्षा हुने सम्भावना भने कम देखिएको मौसम महाशाखाले जनाएको छ।
शुक्रबार र शनिबार दुई दिन देशको अधिकांश स्थानमा हुरी र असिनासहित वर्षा भएको थियो। शनिबार बेलुकादेखि भने पानी पार्ने प्रणाली क्रमश: कमजोर हुँदै मौसम खुल्न थालेको हो।

Shares

प्रतिक्रिया