समाज


क्षयरोगको चित्र: उपचार केन्द्र देशैभर तर दिनहुँ ज्यान गुमाउँछन् ४४ जना

क्षयरोगको चित्र: उपचार केन्द्र देशैभर तर दिनहुँ ज्यान गुमाउँछन् ४४ जना

प्रज्ञा तिम्सिना
चैत १०, २०८२ मंगलबार १४:२८, काठमाडौँ

सरकारले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ। देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थाबाट सरकारले क्षयरोगको निःशुल्क औषधि बाँडिरहेछ। ७८५ केन्द्रमा खकार परीक्षण (माइक्रोस्कोपी) र १४२ स्थानमा अत्याधुनिक द्रुत परीक्षण (जेन–एक्सपर्ट) सेवा पनि उपलब्ध छ। उपचारका यति धेरै संयन्त्र र लगानीका बाबजुद नेपालमा क्षयरोगको संक्रमण र मृत्युदर अझै डरलाग्दो देखिन्छ।

सरकारी तथ्यांकअनुसार नेपालमा अहिले पनि दैनिक ४४ जनाले क्षयरोगकै कारण ज्यान गुमाइरहेछन्।

सन् २०५० सम्ममा ‘क्षयरोगमुक्त नेपाल’ बनाउने महत्वाकांक्षी लक्ष्य राखेको सरकारका सामु नयाँ बिरामी पत्ता लगाउनु र उनीहरूलाई उपचारको दायरामा टिकाइराख्नु नै मुख्य चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमानअनुसार नेपालमा वार्षिक करिब ६७ हजार नयाँ क्षयरोगी थपिन्छन्। अर्थात्, प्रति एक लाख जनसंख्यामा २२७ जनामा संक्रमण छ। मृत्यु हुनेको संख्या भने वार्षिक १६ हजारको हाराहारीमा छ।

क्षयरोगका सबै बिरामी परीक्षण, उपचार गर्न जाने गरेका छैनन्।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालले करिब ९० वर्ष अघिदेखि नै क्षयरोगविरुद्ध काम गरिरहेको भए पनि सोचेजस्तो सफलता मिल्न सकेको छैन। 'यो लक्ष्य हासिल गर्न प्रति लाख जनसंख्यामा बिरामीको संख्या ३० भन्दा कममा झार्नुपर्ने हुन्छ, त्यसका लागि सबै तहको सहकार्य र समन्वय जरूरी पर्छ,' डा. पौडेल भन्छन्, 'तर क्षयरोगी उपचारको दायरामा नआउँदा नियन्त्रणमा समस्या देखिएको छ।'

संक्रमितहरू उपचारको दायरामा नआउँदा समुदायमा अरूलाई पनि रोग सर्छ, यसले गर्दा संक्रमणको साङ्लो तोड्न कठिन भएको हो। केन्द्रले अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त एक्स–रे र पीसीआर परीक्षणको व्यवस्था मिलाएको छ। 'बिरामी उपचारको दायरामा आएमा पूर्ण रूपमा निको हुन्छन्,' उनले थपे, 'तर सबै बिरामी अझै पनि परीक्षण र उपचारको दायरामा नआउँदा सरकारी लक्ष्य पूरा गर्न चुनौती देखिएको छ।'

औषधि प्रतिरोधी (डीआर) क्षयरोगको बढ्दो जोखिम
क्षयरोग नियन्त्रणमा देखिएको अर्को ठूलो पर्खाल ‘औषधि प्रतिरोधी’ (मल्टी ड्रग रेजिस्टेन्स–एमडीआर) क्षयरोग हो। सामान्यतया ६ महिना नियमित औषधि सेवनले क्षयरोग निको हुन्छ। तर, बिरामीले बीचमै औषधि छाडिदिँदा वा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि तलमाथि गर्दा कीटाणुहरू थप शक्तिशाली बन्छन्।

वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठका अनुसार क्षयरोगमा औषधिले कामै नगर्ने समस्या नयाँ चुनौतीका रूपमा थपिएको छ।

औषधिले कामै नगर्ने नयाँ समस्या पनि देखिएको छ।
'बिरामीले केही समय औषधि खाएपछि ठिक भएको महसुस गर्छन् र औषधि खान छोड्छन्। यसो गर्दा बाँकी रहेका कीटाणुहरूले औषधिसँग लड्ने क्षमता विकास गर्छन्, खाइरहेको औषधिले काम गर्न छोड्छ,' डा. श्रेष्ठ भन्छन्। औषधिले काम नगर्ने अवस्था (ड्रग रेजिस्टेन्स) मा पुगेपछि उपचार थप जटिल, लामो र महँगो बन्न पुग्छ।

अहिले देशभर औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्  तर समुदायमा लुकेर रहेका यस्ता बिरामीको खोजी अझै प्रभावकारी हुन सकेको छैन।

७२ प्रतिशत फोक्सोका बिरामी
माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट सर्ने यो रोग मुख्यतया फोक्सोमा लाग्छ। कुल संक्रमितमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी हुन्छन् भने बाँकी २८ प्रतिशतमा फोक्सोबाहिरका अंग जस्तै— ग्रन्थी, आन्द्रा, मस्तिष्क, हाड, प्रजनन अंग, छाला र आँखामा संक्रमण देखिन्छ।

संक्रमित व्यक्तिको खोकी, हाछ्युँ वा श्वासप्रश्वासबाट निस्कने स–साना थोपाहरू (ड्रपलेट्स) मार्फत यो स्वस्थ व्यक्तिमा सर्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका, मधुमेह, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र एचआईभी संक्रमितलाई यो रोगले छिटो आक्रमण गर्छ। तर, कीटाणु छिर्दैमा सबैलाई रोग लाग्दैन। शरीरमा कीटाणु पुगेकामध्ये करिब १० प्रतिशतमा मात्रै लक्षणहरू देखिन्छन्।

क्षयरोग पत्ता लगाए, नोबल पुरस्कार पाए

स्वास्थ्य मन्त्रालय र अन्य संघस्थाले कार्यक्रम गरी मंगलबार विश्व क्षयरोग दिवस मनाएका छन्।
मानव सभ्यताकै पुरानो रोग मानिने क्षयरोगको कीटाणु सन् १८८२ मार्च २४ मा जर्मन वैज्ञानिक रबर्ट कोचले पत्ता लगाएका थिए। यही खोजका लागि उनले सन् १९०५ मा नोबेल पुरस्कार पाएका थिए। नेपालमा भने विक्रम संवत् १९९३ देखि यसको औपचारिक उपचार सुरु भएको हो।

हाल सरकारले १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरेको छ। संघीय सरकारले नीतिगत व्यवस्थापन, औषधि र प्रयोगशालाको खर्च ब्यहोर्दै आएको छ भने स्थानीय तहले प्रत्यक्ष निगरानीमा उपचार (डट्स) सेवा प्रदान गरिरहेका छन्। नवजात शिशुलाई जन्मनासाथ लगाइने बीसीजी खोपले पनि क्षयरोगविरुद्ध सुरक्षा दिँदै आएको छ। तथापि, दैनिक ४४ जनाको ज्यान जाने तथ्यांकले के स्पष्ट पार्छ भने : अस्पतालमा उपलब्ध सेवा र समुदायमा रहेका बिरामीबीच अझै ठूलो खाडल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad