राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालत, काठमाडौँले आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल उमेश कोइरालाको इजलासले अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको हो। विशेष अदालतको आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादीले जग्गामा लगानी गरिएको भनिएको आरोपत्रमा उल्लेखित कित्ता नम्बर ९९८ को जग्गा अनुसन्धानको क्रममा रोक्का नै रहेको देखिँदा यी प्रतिवादी झलकराम अधिकारीबाट २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू।’
अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्न सहजीकरण गरे वापत उक्त रकम लिएको अख्तियारको आरोप थियो।
इन्टरप्राइजेजका संचालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिँदा विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँग सल्लाह तथा मिलेमतो गरेको अख्यिारको दाबी थियो। श्रीकृष्णले आफू सञ्चालक रहेको एचके इन्टरप्राइजेजको खाताबाट तीन वटा चेकमार्फत २०७९ साउन २४ गते अधिकारीलाई भुक्तानी गरेका थिए। आफ्ना कर्मचारीको नाममा चेक काटेर उनले अधिकारीको खातामा रकम जम्मा गरेको पाइएको छ।
विकास कुमार चापागाईको नाममा ५० लाख रुपैयाँको चेक मार्फत भुक्तानी गरेको पाइएको अख्तियारको दाबी छ। यसरी घुस लिएको रकम उनले भक्तपुरमा जग्गा खरिद गरेर मिलाएको अख्तियारको अनुसन्धानमा देखिएको थियो।
अख्तियारले अधिकारीबाट ७० लाख, द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसीबाट २० लाख र बाँकेका रविन्द्र लामिछानेबाट ५० लाख भराउन बिगो दाबी गरेको थियो।
Shares

प्रतिक्रिया