मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ र बाँकी तराईमा मौसम मुख्यतया सफा छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ, पहाडी स्थानमा आंशिक बादल लाग्नेछ र तराईमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
राति देशको हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भेगमा आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।
यसैबिच आज काठमाडौँ उपत्यकाको मौसम दिनभर आंशिक बदली रहने सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
'आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम देखिएको छ', नेपालखबरसँग उनले भने, 'भोलिचाहिँ वर्षाको सम्भावना अलि बढी छ।'

Shares

प्रतिक्रिया