सुन जस्तो देखिने पहेँलो धातु दिएर १४ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भनिने धनवीर वाइबा रहेका प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले टोखाबाटै पक्राउ गरेको हो।
बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाउँदै उनले एक व्यापारीबाट १४ लाख रूपैयाँ ठगी गरेको आरोप छ।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-९ शिवमन्दिर नजिकै रहेको एक होटलबाट पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान पनि बरामद गरेको छ।
वाइबालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया