जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
त्यसो त अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा कोसी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
यस्तै राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिएकी छन्।
'बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम साधारणतया बदली छ', उनले नेपालखबरसँग भनिन्, 'आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।'

यसअघि बिहीबारै जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार दुई दिन देशका धेरै स्थानमा चट्याङ र हुरीसहित वर्षा हुने सम्भावना रहेको जानकारी गराएको थियो।
Shares

प्रतिक्रिया