समाज


प्रहरी हेडक्वार्टरमा गृहमन्त्री गुरुङले भने– अब आईजीपीलाई फुली प्रधानमन्त्रीले लगाइदिन्छन्

रास्वपा र गृहमन्त्रीबाट प्रहरीलाई कुनै पनि दबाब नदिने प्रतिबद्धता
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री गुरुङले भने– अब आईजीपीलाई फुली प्रधानमन्त्रीले लगाइदिन्छन्

नेपालखबर
चैत १६, २०८२ सोमबार १६:४०, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय पुगेर  सम्बोधन गरेका छन्। 

सोमबार प्रहरी मुख्यालयको सभा हलमा सम्बोधन गर्दै प्रहरीलाई थप शक्तिशाली बनाउने प्रतिबद्धता जनाएका हुन्।

अबदेखि प्रहरी महानिरीक्षक (आईजीपी) लाई दज्र्यानी चिह्न प्रधानमन्त्रीबाट लगाउने व्यवस्था गर्न आफूले पहल गर्ने उनले बताए। विगत लामो समयदेखि प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीबाट र प्रधानमन्त्रीबाट नभए गृहमन्त्रीबाट दज्र्यानी चिह्न लगाइदिन माग गर्दै आएका छन्।

तर गृह सचिवले नै लाउँदै आएका छन्। यसअघि दानबहादुर कार्की आईजीपी हुँदा पनि प्रधानमन्त्रीले नै लगाइदिने तयारी भए पनि अन्तिम समयमा गृहसचिवबाटै लगाउनुपरेको थियो। तरु अब प्रधानमन्त्रीले लगाइदिने गरी आफूलजे पहल गर्ने गृहमन्त्री गुरुङले बताए।

कम स्रोत र साधनका बाबजुद विशेष गरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको दुःख पीडालाई नजिकबाट देखेको बताउँदै गृहमन्त्री गुरुङले आवश्यक सेवा सुविधाको विषयमा सम्बोधन गरिने बताएका छन्। 

‘प्रहरीले जति काम गरे पनि अपजस पाउने दिनको आगामी दिनमा अन्त्य गरिनेछ। राजनीति दलका नेता सरकार र जनताबाट जथाभावी दवाव दिने तथा पेल्ने गतिविधिको अन्त्य हुन्छ’, सम्बोधनका क्रममा गुरुङले भने, ‘कानुन कार्यान्वयनमा म र म संलग्न दल रास्वपाबात तपाईहरुलाई कुनै पनि दबाब हुनेछैन।’

नागरिकलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै गुरुङले प्रहरीको सवारी साधन कुनैपनि घटनामा तत्काल एम्बुलेन्स नहुँदा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने, पहिलो उद्धार कार्यका लागि प्रहरीलाई आवश्यक तालिम दिने पनि उनले बताए। 

‘सरुवा र बढुवाको लागि मन्त्रीज्यूहरुको ढोका ढक्ढकाउने प्रवृत्तिको अबका दिनबाट अन्त्य गरिनेछ। कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा, बढुवा गरिनेछ। न्याय दिने संगठन माथी भएको अन्याय सहिँदैन। यो बोली मात्र हैन व्यवहार त लागु हुनेछ’, गृहमन्त्रीले भने, ‘राज्यको कुनैपनि निकायले कतैबाट प्रहरी संगठनलाई हेप्ने कार्य भएमा त्यसविरुद्ध लागिनेछ। नेपाल प्रहरी र प्रहरी महानिरीक्षकलाई थप शक्तिशालि बनाइनेछ।’

प्रहरीलाई पोषणयुक्त खानाको लागि आवश्यक कदम चाल्ने, दंगा नियन्त्रणको अवस्थामा कुनै पनि प्रहरी कर्मचारी बिना फुल गियर र शिल्ड बिना फिल्डमा नखटाइने बताए।

विशिष्ट व्यक्तिको आवागमनमा नागरिकसरहकै व्यवहार प्रदर्शन गरिने र कुनै पनि प्रहरी कर्मचारीलाई समस्या पर्दा गृहमन्त्रालयको ढोका २४ सैं घण्टा खुल्ला रहने पनि गुरुङले बताए। 

प्रहरी कर्मचारीले प्रयोग गर्ने पोसाक प्रहरी आफैले उद्योग खोलेर नेपालमै उत्पादन गर्ने उनको घोषणा छ। त्यस्ता उद्योग नेपालको ग्रामीण क्षेत्रमा खोलिने पनि गृहमन्त्री गुरुङले बताए।

गृहमन्त्री गुरुङको यो पहिलो सम्बोधन हो। 

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित संग्रहालय, डिजिटल फरेन्सिक ल्याब, एआई सेल, डाटा सेन्टर र पोलीग्राफ शाखाको निरीक्षण गरेका छन्। 

निरीक्षण पछि उनले आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए। 

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बाबजुद प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गरे।

साथै निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरीले जस्तोसुकै परिवेशमा पनि कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि समेत गरेको उनको भनाइ छ।

विगतको भन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सबै प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए। 

कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताएका छन्। 

प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने बताउँदै कार्कीले गृहमन्त्रीबाट प्राप्त महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनले अत्यन्तै उत्साहित बनाएको बताए। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल रुपमा उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad