सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब तयारीमा मात्रै सीमित नराखिने बताएका छन्।
धादिङको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अब ‘तत्काल परिचालन’को रणनीतिमा सशस्त्र प्रहरीलाई लैजाने घोषणा गरे।
जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र सङ्गठनले कल्याणकारी योजनाहरू थप गरेको जानकारी पनि उनले दिए।
‘गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बिमा सुविधा वृद्धि गरिएको छ,’ उनले भने, ‘नेपाल सरकारको १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी अब कुनै दुर्घटना भएमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको छ।’
उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् सहिद’ घोषणा गर्न सरकारसमक्ष प्रस्ताव पठाइएको जानकारी पनि उनले बताए।
विक्रम संवत् २०६३ सालदेखि हालसम्म सशस्त्र प्रहरीले ३६ हजारभन्दा धेरै विपद्का घटनामा खटिएर १५ हजारभन्दा बढीको सकुशल उद्धार गरिसकेको अर्यालले बताए।
Shares

प्रतिक्रिया