नेपाल मेडिकल काउन्सिलले अनलाइन परामर्शका नाममा बिरामीको फोटो भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक नगर्न चिकित्सकहरूलाई आग्रह गरेको छ। काउन्सिलले आज सूचना निकाली विभिन्न सामाजिक सञ्जाल मार्फत रोगहरुको उपाचार र औषधिको प्रयोग गर्न सुझाव दिने भिडियो प्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘विभिन्न सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत ‘अनलाइन परामर्श’को नाममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, विभिन्न रोगहरूको उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने तथा स्वास्थ्य सम्बन्धी भिडिओ सामग्रीहरू व्यापक रूपमा प्रसारण गर्ने जस्ता कार्यहरू भइरहेको प्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
अनलाइन परामर्शले अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानी समेत पुग्न सक्ने जनाएको छ।
बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा काउन्सिलमा दर्ता रहेका चिकित्सकको प्रत्यक्ष मूल्यांकन बिना औषधि सेवन गर्न सुझाव दिनु वा त्यस्तो सल्लाह प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा गम्भिर जोखिम उत्पन्न हुन सक्ने भन्दै काउन्सिलले सचेत गराएको छ।
काउन्सिलले बिरामीसँग सम्बन्धित भिडिओ सामग्री सार्वजनिक नगर्न गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने गरी राख्न भनेको छ। सामाजिक सञ्जाल मार्फत परीक्षण बिना औषधि सिफारिस गर्ने बन्द गर्न चिकित्सकलाई निर्देशन दिएको छ।
स्वास्थ्य सम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्ने भनेको छ। अन्यथा काउन्सिलको ऐन तथा प्रचलित कानुन नियमानुसार कारबाही गर्ने जनाएको छ।
बिरामीहरूले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिन आग्रह गरेको छ।

Shares

प्रतिक्रिया