सामाजिक सञ्जालबाट प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै बझाङ जिल्लाको थलरा गाउँपालिका-४ मयल बस्ने सानु भाई भन्ने साजन बिष्टलाई नियन्त्रणमा लिएको हो।
उनले आफ्नो फेसबुक आईडीमा सानू भाई नामक एकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्, अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागी एके-४७ जस्ता अत्याधुनिक ठूला हतियारहरू काठमाडौँमा भित्रिसकेको छ भनि त्रास फैलाउने काम गरेको प्रहरीको आरोप छ।
आफ्नो फेसबुक आईडी मार्फत धम्कीपूर्ण भिडिओ सार्वजनिक गरेका उनलाई खोजतलासका क्रममा वैशाख ५ गते सिनामंगलबाट पक्राउ गरेको हो।
बिष्टविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाइएको छ।
बिगत ५ वर्षदेखि भारतको बैंगलोरमा बसोबास गरिरहेका २० वर्षीय साजन बिष्ट भारत रहँदा बस्दासमेत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ।
Shares

प्रतिक्रिया