समाज


यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ७, २०८३ सोमबार २०:९, काठमाडौँ

काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौँको मूलपानी क्षेत्रमा आज खटिएको थियो।

त्यस्तै काठमाडौँको बबरमहल सडक खण्डमा आज गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन्।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधन फेला परेका हुन्। 

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीको आग्रह छ।

साथै, सुरक्षित यात्रा गर्न पाउनु यात्रुको अधिकार भएको हुँदा सुरक्षाको सुनिश्चितता प्रदान गर्न सवारी धनी तथा व्यवसायीहरूलाई सम्वेदनशील बन्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अनुरोध गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad