समाज


सिड्नीको सुरुङ, जहाँ भेटियो एक लाख मानिसले ‘नदेखेको’ नेपालीको शव

सिड्नीको सुरुङ, जहाँ भेटियो एक लाख मानिसले ‘नदेखेको’ नेपालीको शव

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार ११:१६, काठमाडौँ

नेपाल बसेर तपाईं अस्ट्रेलिया भन्नासाथ के सम्झिनुहुन्छ? विश्व प्रसिद्ध अस्ट्रेलिया नेसनल युनिभर्सिटी, ठुला बिल्डिङ, खुला र सुन्दर पार्क अथवा अलौकिक ओप्रा हाउस! टाढाबाट जे कल्पना गरिन्छ, नजिक पुगेर अनुभव गर्दा वास्तविकता अर्कै भइदिन्छ। उज्यालो अस्ट्रेलिया र उज्वल भविष्यको सपना साँचेर विक्रम लामा पढ्न सिड्नी पुगेका थिए।

कम्प्युटर साइन्सका विद्यार्थी उनको निधन भएको छ तर हिजोआज होइन।

उनको मृत्युले केवल बुवा, आमा, परिवार मात्र होइन, पूरै अस्ट्रेलियामा फरक तरंग सिर्जना गरेको छ। न्युजडटकम डट एयूका अनुसार ३२ वर्षीय विक्रम मृत्युको घटनाले मानवीय पक्षलाई प्रधानता दिने देशलाई ठुलो प्रश्न ठड्याइदिएको छः मान्छेको जीवनको मूल्य कति हो? मानवीयता प्रधान रहने राष्ट्रको नीतिको कार्यान्वयन स्थिति कहाँ छ?

बेलायती पत्रिका द गार्डियनले प्रकाशन गरेको लामो रिपोर्टअनुसार विक्रम सिड्नीको सेन्ट जेम्स सुरुङभित्र बस्थे। त्यहाँका परेवालाई चारो हाल्थे। स्थानीयले स्नेहपूर्वक उनलाई बोलाउन नाम राखिदिएका थिए- ‘बर्ड म्यान’। त्यही बर्डम्यानको शव डिसेम्बर ७ मा फेला पर्‍यो।

छोराको फोटोको साथमा विक्रमकी आमा। तस्विर: अरूण कार्की

विक्रमको मृत्यु सिड्नीको व्यस्त व्यापारिक केन्द्र (सीबीडी) र हाइड पार्क मुनि रहेको सुरुङभित्र भएको थियो। अचम्मको कुरा के भयो भने उनको मृत्युअगाडि उनको छटपटि कस्तो थियो, कोही साक्षी छैन। अन्तिम सास लिँदा धड्कन कति थियो, कोही साथी छैन।

पत्रिकाले लेखेको छ, ‘स्टेसनका कर्मचारीले शव देख्नुअघि करिब १ लाख मानिस उनको शव छेउबाट ओहोरदोहोर गरेका थिए।’

अस्ट्रेलियामा गर्मीको समयमा उनको मृत्यु भएकाले प्रहरी पुग्दा उनको शव नचिनिने भइसकेको थियो। पहिचानका लागि डीएनए नेपाल पठाउनु परेको थियो। 

मकवानपुरस्थित विक्रमको घर। तस्विर: अरूण कार्की

विक्रमको मृत्युले सिड्नीजस्तो विकसित र व्यस्त सहरभित्र मानिस कति एक्लो हुनसक्छ भन्ने भयावह चित्र पनि देखाइदिएको छ। आप्रवासी विद्यार्थीको लुकेको पीडालाई पनि सतहमा ल्याइदिएको छ।

विक्रमको नेपाल ठेगाना मकवानपुर हो। सुरुमा उनी घरमा कुराकानी गरिरहन्थे। उता उनको जीवनले परिवर्तनको पाना पल्टायो, यता मकवानपुरमा टेलिफोन कल आउन छाड्यो। आमा, परिवासँग कुराकानी नभएको धरै समय भइसकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad