ad ad

समाज


कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : ‘गाह्रो भयो’ भने पनि न लगियो अस्पताल, न आए डाक्टर

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : ‘गाह्रो भयो’ भने पनि न लगियो अस्पताल, न आए डाक्टर

उजिर कार्की
जेठ ४, २०७७ आइतबार १२:२२,

कोरोनाका कारण ज्यान गुमाएका बाँकेका युवाले उपचार नै नपाएको देखिएको छ।

क्वारेन्टिनमा राखिएका उनले आफूलाई गाह्रो भएको बताइरहँदा पनि उनलाई अस्पताल पनि लगिएन। न त स्वास्थ्यकर्मीको टोली नै त्यहाँ पुग्यो।

उनी गत साता भारतबाट फर्केका थिए। दशगजामा देश फर्किन पाऊँ भन्दै १२ दिनसम्म नारा लाए। बल्ल देशको ढोका खुल्यो र ६ दिनपहिले आफैं पढेको विद्यालयको क्वारेन्टिनमा आएका थिए बाँकेका युवा।

‘क्वारन्टिनमा राख्दैगर्दा उनको अवस्था ठिकठाकै देखिन्थ्यो,’ वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने, ‘क्वारेन्टिनमा लापरबाही भएपछि उनको मृत्यु भयो।’

आइतबार राति ३ बजे उनले साथै रहेकाहरुसँग ‘मलाई बान्ता होलाजस्तो भयो’ भनेका थिए। त्यो विद्यालय भवनमा उनीसहित ३९ जनालाई क्वारेन्टिनमा राखिएको थियो।

Narainapur Coronadeath 1संक्रमित युवाकाे मृत्यु भएकाे खबर फैलिएपछि जम्मा भएका स्थानीय।

‘बान्ता होलाजस्तो भने पनि उनलाई बान्ता भएको थिएन। तर उनले सास फेर्न पनि गाह्रो हुन थाल्यो भनेका रहेछन्,’ बाँकेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने।

बिहान भएपछि हेरौंला भन्दा भन्दै उनलाई झन् झन् गाह्रो थाल्यो। बिहान ६ बजे क्वारन्टिनमा अहेब पुगे। तर कोरोनाको लक्षण देखिएकोमा उनले पनि गर्न सक्ने केही भएन।

एम्बुलेन्स बोलाएका थिए। तर गाउँपालिकाको एम्बुलेन्स सुत्केरी लिएर स्वास्थ्यचौकी गएको थियो। २४ बिघास्थित गंगापुर प्राथमिक स्वास्थ्यचौकी पुगेको एम्बुलेन्स ढिला गरी फर्कियो।

के गर्ने कसो गर्ने भन्दाभन्दै बिहान साढे ६ बजे उनको मृत्यु भयो।

वैशाख ३० गते नेपाल प्रवेश गरेका उनीहरुलाई गाउँपालिकाले बनाएको क्वारन्टिनमा राखिएको थियो।

यो गाउँपालिकाका ७ सय ५९ जना उनीहरु नेपाल प्रवेश गरेका थिए। तीमध्ये मृतकसहित ८ जनामा कोरोना संक्रमण देखिएको छ।

क्वारन्टिनमा भएका सबै भारतबाट फर्किएका हुन्।

मृतक युवा एक वर्षअघि रोजगारीका लागि भारत गएका थिए। कोरोनाले त्यहाँको पनि स्थिति राम्रो रहेन। आफ्नै ठाउँमा पुगे सहज होला भनेर फर्किएका उनको घर पुग्न नपाउँदै ज्यान गयो।

आइतबार दिउँसोको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्युको कारण कोरोना नै भएको पुष्टि गरे।

नेपालमा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ। दुवैको रिपोर्ट मृत्युपछि मात्रै आएको छ।

यसअघि ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको पनि मृत्यु भइसकेपछि कोरोना परीक्षण गरिएको थियो।

यसले कोरोना परीक्षण गर्ने सरकारको तरिकामाथि नै प्रश्न खडा गरेको छ।

नेपालमा अहिलसम्म कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .