हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। अनि यतिबेला (बिहीबार बिहान) हिमाली र कोसी प्रदेशको तराई क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली क्षेत्रमा साधारणतया र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा आज दिउँसो कोसी प्रदेशका हिमाली र पहाडी भूभागसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। अनि मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना छ।
यसैगरी आज राति कोसी प्रदेशका हिमाली र पहाडीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। अनि कोसी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना एकदमै कम रहेको मौसम महाशाखाका मौसमविद् बिनु महर्जनले बताइन्।
‘आज काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि बादल लाग्छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर वर्षा हुने सम्भावना एकदमै कम छ।’

Shares

प्रतिक्रिया