सिन्धुलीमा अन्तरजातीय प्रेम विवाह गरेका दलित युवकको प्रहरी हिरासतमै भएको मृत्यु घटनाप्रति जात व्यववस्था उन्मुलन मोर्चाले चासो व्यक्त गरेको छ।
मोर्चाकी संयोजक रुपा सुनारले प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमै मृत्यु घटना खेदजनक भएको बताएकी हुन्।
गएको चैत्र २८ गते खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरेका बिक वैशाख ७ गते इलाका प्रहरी कार्यालय, खुर्कोटको हिरासतमा मृत भेटिएका थिए। उनले आत्महत्या गरेको दाबी प्रहरीले गरेको छ।
मगर समुदायकी किशोरीका आफन्तले आफ्नी छोरीलाई विकले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। प्रहरी हिरासतमै उनको शव भेटिएपछि प्रहरीको आलोचना भइरहेको छ।
‘मगर थर भएकी युवतीसँग प्रेम विवाह गरेका विकलाई प्रहरीले मिलापत्र गर्न बोलाई, नियन्त्रणमा लिई, जबरजस्ती करणीको मुद्दा चलाउनु खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तरजातीय प्रेम र विवाह गरेकै कारण दलित समुदायका कयौँ युवाहरूलाई अपहरण र बलात्कार जस्ता जघन्य अपराधको मुद्दामा फसाइएको विषय जगजायर नै छ। पीडितलाई न्याय दिनुपर्ने ठाउँमा पिडकलाई नै सहयोग पुग्ने गरी काम गर्ने प्रहरी प्रशासनको यस्ताखाले रवैयाको हामी घोर भर्त्सना गर्दछौँ।’
हिरासतमा रहेको अवस्थामा सुरक्षाको प्रत्याभूति र यातना विरुद्धको हक प्राप्त गर्ने आरोपीको अधिकारप्रति वेवास्ता गरिएको आरोप मोर्चाले लगाएको छ।
‘हिरासतमा रहेको अवस्थामा सुरक्षाको प्रत्याभूति र यातना विरुद्धको हक प्राप्त गर्ने अभियुक्तको अधिकार हो भने सुरक्षा प्रदान गर्नु प्रहरी प्रशासनको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर न्यायिक निरूपण प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने प्रहरी कार्यालयभित्रै अभियुक्तको मृत्यु हुनु, जबरजस्ती करणी गरेको बयानमा सहीछाप गर्न मानसिक दबाब र शारीरिक यातना दिनु, परिवारलाई मृत्यु भएको ठाउँ समेत हेर्न नदिनु, घटना भएको ६ घण्टापछि मात्र जानकारी गराउनु, र परिवारलाई शव बुझ्न दबाब दिनुले प्रहरी प्रशासन र पीडक परिवारको मिलेमतोमा योजनाबद्ध रूपमाघटना घटाइएको कुरा सजिलै बुझुन् सकिन्छ।’
मोर्चाले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले छानबिन गरी घटनामा संलग्न पिडक परिवार र प्रहरी प्रशासनसहित सम्पूर्णलाई यथाशीघ्र कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति सहितको न्याय दिन सरकारसँग माग गरेको छ।
पीडितलाई समयमै न्याय नदिएको खण्डमा सबै खाले सङ्घर्ष गर्न तयारसमेत तयार रहको चेतावनीसमेत मोर्चाले दिएको छ।
दलित समुदायका व्यक्तिहरू प्रहरी हिरासतमा मृत फेला परेको यो पहिलो घटना नभएको पनि मोर्चाले स्मरण गराएको छ।
‘यो भन्दा अगाडि पनि सुन्दर हरिजन, रोशन बिक, पल्टु रविदास, विजय राम महरा र शम्भु सदा मुसहर लगायतका दलित युवाहरूको प्रहरी हिरासतमै रहस्मय मृत्यु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रृखंलाबद्ध रूपमा घटाइएका यस प्रकारका गम्भीर घटनाहरूलाई नियाल्दा वर्तमान राजनीतिक व्यवस्थाबाट दलित समुदायमाथिको उत्पीडनको अन्त्यको त कुरै छोडौँ, बरु थप बढ्दै गएको पुष्टि हुन्छ।’
मोर्चाले जात व्यवस्था विरोधी न्यायप्रेमीहरुले यस व्यवस्थाभित्र सुधारमुखी कार्यक्रमको खोजी गर्नुको सट्टा वैज्ञानिक समाजवाद निर्माणको बाटो मार्फत जात व्यवस्थाविरुद्धको लडाइमा होमिन पनि मोर्चाले आह्वान गरेको छ।
Shares

प्रतिक्रिया