समाज


‘टुर डे लुम्बिनी- शान्तिका लागि साइकल यात्रा’ हुने

‘टुर डे लुम्बिनी- शान्तिका लागि साइकल यात्रा’ हुने

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १७:५३, काठमाडौँ

नेपालबाट शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनी– शान्तिका लागि साइकल यात्रा’ हुने भएको छ। 

नेपाल पर्यटन बोर्डमा बिहीबार पत्रकार सम्मेलन गरी आगामी वैशाख १५ देखि १९ गतेसम्म साईकल यात्रा हुन लागेको जानकारी दिइएको हो। काठमाडौँदेखि लुम्बिनीसम्म सञ्चालन हुने साइकल यात्रामा स्वदेश तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको सहभागिता हुनेछ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसहित साईकल यात्रा गर्न शुरु गरिएको आयोजक संस्था टुर डे लुम्बिनी–पेडल फर पिसका अध्यक्ष मेघबहादुर आलेले जानकारी दिए। जेन–जी आन्दोलनपछि नेपालमा पनि पूर्णरुपमा शान्ति स्थापना नभएको र विश्वमा पनि विभिन्न किसिमका द्वन्द्व भइरहेकोले शान्ति स्थापनाको लागी यो यात्रा महत्वपूर्ण हुने उनको भनाई छ। 

उनले लुम्बिनीबाट हरेक वर्ष शान्तिको सन्देश दिनुपर्ने बताए। अमेरिका–ईरान–ईजरायल युद्ध, रसिया–युक्रेन युद्धको कारण हाल विश्व आक्रान्त रहेको उनको भनाई छ। उनले विश्व शान्तिको कामना गर्दै काठमाडौंबाट साईकल चलाएर लुम्बीनी पुगी शान्तिदीप बालेर फर्किने जानकारी दिए।

यस अभियानले नेपाललाई ‘शान्ति क्षेत्र’का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उनको भनाई छ। भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित नेपालले शान्तिको केन्द्रका रूपमा भूमिका खेल्न सक्ने उनले बताए।

उनले भने, ‘अब बुद्धको भूमीबाट हामीले शान्तिको सन्देश फैलाउनुपर्छ। लुम्बिनीलाई शान्ति संवादको क्षेत्र बनाउनुपर्छ, लुम्बीनीबाट शान्तिको घोषणा भएको म्यासेजहरु आउनुपर्छ। युएनको वल्र्ड हेरिटेज डे, टुरिजम डे भनेको जस्तै हामीले लुम्बिनीबाट हरेक वर्ष शान्तिको सन्देश दिनेगरि टुर डे लुम्बिनीको सोच अगाडी बढाएका हौँ।’

उनकाअनुसार यो अभियान सन् २०१२ देखि शुरु गरिएको हो। दश वर्षे सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्थाबाट गुज्रिएको नेपालमा शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले साईकल यात्रा सञ्चालन हुँदै आएको र यसको महत्व अझै बढ्दै गएको आयोजकको भनाई छ।

यस वर्षको संस्करण विशेषगरी जेन–जी पुस्ताका युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहने जनाइएको छ। आगामी दिनमा शान्तिका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने आयोजकको तयारी छ। कार्यक्रमलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad