समाज


नेपालको नयाँ भन्सार नियमबारे यस्तो छ भारतको आधिकारिक धारणा

नेपालको नयाँ भन्सार नियमबारे यस्तो छ भारतको आधिकारिक धारणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १४:२४, काठमाडौँ

भारतबाट सय रुपैयाँभन्दा बढीको सामानमा नेपालले भन्सार लगाएपछि भारतले चासो देखाएको छ। यस विषयमा नेपाल सरकारसँग कुराकानी भइरहेको भारतीय अधिकारीले जनाएका छन्। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ‘प्रेस ब्रिफिङ’मा पत्रकारले सोधेको प्रश्नको उत्तरमा नेपाल सरकारसँग कुराकानी भइरहेको बताएका हुन्। निजी प्रयोगका लागि भारतबाट नेपालीले लैजाने एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लगाउन थालेको सन्दर्भमा भारतको आधिकारिक धारणा आएको हो।

प्रेस ब्रिफिङमा द पाइनियोरका पत्रकारले सोधेका थिए, ‘नेपाल-भारत सीमा क्षेत्रबाट धेरै भिडिओ सार्वजनिक भइरहेका छन्। ती भिडिओमा भन्सार र त्योसँग सम्बन्धित विषयहरू देखिन्छ। यसले गर्दा बिहार र नेपालको सीमा क्षेत्रमा नराम्रो सन्देश फैलिएको छ। यसमा तपाईँको के टिप्पणी छ?’

जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल गइरहेका भारतीय नागरिकका सामानमा भन्सार शुल्क नलाग्ने बताए। ‘यहाँबाट जो हाम्रा मान्छे नेपाल यात्रामा जाँदै छन्, उनीहरूले व्यक्तिगत वा घरयासी प्रयोगका सामान लाँदै छन्, त्यसमा कुनै भन्सार शुल्क लाग्दैन,’ उनले भने, ‘बाँकी, यो मुद्दाको विषयमा हामी नेपाल सरकारसँग कुराकानी गरिरहेका छौँ।’

नेपाली नागरिकले भारतबाट सामान खरिद गरेर लग्दा भन्सार शुल्क लगाएको विषयमा जानकार रहेको उनले सुनाए। ‘हो, केही रिपोर्ट हामी देखेका छौँ, केही खबर पढेका पनि छौँ,’ प्रवक्ता जयसवालले भने, ‘नेपाल सरकारले भारतबाट जानेले साथमा केही सामान लैजाँदा भन्सार शुल्क लगाउन थालेको छ। यो नियम पुरानै हो, त्यसलाई उनीहरुले अहिले लागू गरेका मात्र हुन्।’

नेपाल सरकारले तस्करी रोक्न भनेर भन्सार शुल्क लगाएको उनको उनको भनाइ थियो। ‘हामी यो बुझ्छौँ कि नेपाल सरकारले उठाएको कदम, अनौपचारिक व्यापार, तस्करी अन्त्य गर्न चालेका कदम हो,’ उनले भनेका छन्। 

भारतबाट काम गरेर फर्किने नेपालीले लगेका सामानमा भन्सार नलाग्ने नेपाली अधिकारीहरूले बताएको उनको भनाइ थियो। ‘म यो पनि भन्न चाहन्छु, एक वरिष्ठ नेपाली अधिकारीले हामीलाई भनेका छन्, जो व्यक्ति भारतबाट जाँदै छ, आफ्नो साथमा निजी समान, निजी प्रयोगका सामान साथमा लाँदैछ, त्यसमा केही रोकावट छैन। त्यसमा कुनै कदम उठाइउको छैन,’ प्रवक्ता जयसवालले भने। 

नेपाल सरकारले भारतबाट खरिद गरेर ल्याएका एक सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लगाएको छ। यसले सीमा क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। उनीहरूले विरोध गर्न थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad