समाज


सुकुमवासीका ५ बस्तीमा ८७१ परिवार, गोठाटार र मनोहरामा पनि डोजर चल्ने

सुकुमवासीका ५ बस्तीमा ८७१ परिवार, गोठाटार र मनोहरामा पनि डोजर चल्ने

डोजर चलाएर भत्काइएको थापाथलीस्थित सुकुमवासी बस्ती। तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १२, २०८३ शनिबार १८:२१, काठमाडौँ

काठमाडौँ उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती खाली गराउने कार्य जारी रहेको सरकारले जनाएको छ। शनिबार तीन बस्तीमा डोजर चलेको छ भने थप दुई बस्ती खाली गराइने भएको छ। 

शनिबार काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ। त्यस्तै, काठमाडौँ-९ स्थित गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। 

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक र कागेश्वरी मनोहरा-९ को मनोहरा टोलमा रहेका सुकुमवासी बस्ती खाली गर्ने तयारी रहेको जनाइएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन्।

शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।

सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी छ। हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा राखिने जनाएको छ।

त्यस लगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad