राजनीति


सुकुमवासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने

सुकुमवासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने

नेपालखबर
बैशाख १२, २०८३ शनिबार १९:१, काठमाडौँ

काठमाडौँका पाँच वटा बस्तीबाट हटाइएका सुकुमवासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने सरकारको तयारी छ। 

सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रम जारी रहेको जनाएको छ। काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा रहेको सुकुमवासी बस्ती खाली गरिएको छ। 

त्यस्तै, काठमाडौँ-९ स्थित गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटार बुद्धचोक र कागेश्वरी मनोहरा-९ को मनोहरा टोलमा रहेका सुकुमवासी बस्ती खाली गरिँदै छ। 

पाँचै बस्तीमा रहेका सुकुमावासीलाई सम्पर्क गर्न भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी छ। 

हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका-१ स्थित सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यस लगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने सरकारी योजना छ। शनिबार साँझसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाएको छ। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad