काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु भएको छ।
प्रदर्शनीको बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।
शुक्रबारसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडौँ महानगरले सञ्चालन गरेको १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीद्वारा सिर्जित कलाकृति राखिएको छ। प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला क्षेत्रमा पुस्तान्तरणको आवश्यक रहेको बताए।
उनले कला क्षेत्रमा ‘अघिको, अहिलेको र अबको’ पुस्ताबीच सीप हस्तान्तरणको अवधारणामा काम गर्नुपर्ने उल्लेख गरे। अघिल्लो पुस्ताले सिकाएको सीप अहिलेको पुस्ताले ग्रहण गरेको र अहिलेको पुस्ताले अबको पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाई छ।
यसको लागि प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाबीच सहकार्य भएको उनले जानकारी दिए। यो सहकार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कला क्षेत्रमा सीप सिकाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ।
उनले भने, ‘ललितकलामा हामी तीन वटा ‘अ’ को प्रयोग गर्छौं, अघिको, अहिलेको र अबको। अघिको पुस्ताले अहिलेको पुस्तालाई हस्तान्तरण गरेको सीप अबको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।’
काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले महानगरले ‘गरिखाने शिक्षा र महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत १५ हप्ते स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको बताए। तालिममा सहभागी विद्यार्थीको सीप र कलालाई उजागर गर्न प्रदर्शनीको आयोजना गरिएको उनको भनाई छ।
महानगरले विद्यालय तहदेखि नै कला शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको हो। तालिममा विद्यार्थीले सिकेको सीपलाई भविष्यमा पेशा वा व्यवसायका रूपमा अघि बढाउने उनको विश्वास छ। आगामी वर्ष प्रदर्शनीसँगै प्रतिष्पर्धात्मक प्रतियोगिता पनि सञ्चालन गर्ने उनले बताए।
उनले भने, ‘काठमाडौँ महानगरमा ८३ वटा विद्यालयहरू छन्। तीमध्ये ५९ वटा माध्यामिक विद्यालयहरू छन्, उनीहरूको मागको आधारमा हामी १५ हप्तासम्म सीप सिकाउने अभियान सञ्चालन गरेका थियौँ। सोही अन्तर्गत विद्यार्थीले सीकेका सीप, कला र क्षमताको आज प्रदर्शनी गरिएको हो। यसले कला क्षेत्रलाई अगाडी बढाउने अवसर प्राप्त भएको छ, ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौँ महानगरलालिकाबीचको सहकार्यले विद्यार्थीको लुकेको क्षमतालाई उजार गर्न सहयोग गरेको छ। विद्यार्थीहरुले यसलाई आगामी दिनमा पेशा व्यवसाय रुपमा पनि अगाडी बढाउन सक्नुहुन्छ।’
ढकालका अनुसार महानगरले विभिन्न सीपमुलक तालिम संचालन गर्ने गरेको छ।

प्रतिक्रिया