समाज


रामशरणको मुद्दा मुलतवीमा राख्नुअघि अदालतले माग्यो अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन

रामशरणको मुद्दा मुलतवीमा राख्नुअघि अदालतले माग्यो अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १९:५३, काठमाडौँ

पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतवीमा राख्न माग गरिएको निवेदनमा विशेष अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवसहित ५५ जना र एक कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दताए गरेको छ। 

अन्य प्रतिवादीहरु विशेष अदालतमा उपस्थित भएर थुनछेक आदेश भए पनि महत भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने भएकाले मुद्दा मुलतवीमा राख्न माग गरिएको छ। 

डा. महतकी पत्नी रोशनी महतले दिएको निवेदनमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार सुनुवाइ गर्दै महतको स्वास्थ्य अवस्थाका सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराई सोको प्रतिवेदन माग गरेको हो। 

मुद्दामा प्रतिवादी बनाइएका महत विगत २ वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको कारण होस ठेगानमा नरहेको कारण अदालतमा उपस्थित भई प्रतिरक्षा समेत गर्न नसक्ने अवस्थामा रहेको निवेदकको दाबी छ।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ बमोजिम निजको हकमा मुद्दा मुलतवीमा राखिपाउँ’ डा. महतकी पत्नी रोशनीले दिएको निवेदनमा माग गरिएको छ। निवेदनसँगै उनले रामशरण महतको उपचार सम्बन्धी कागजातहरु समेत पेश गरेकी थिइन्। 

उक्त कार्यविधि अनुसार होस् ठेगानमा नरहेको व्यक्तिको कारबाही सम्बन्धी व्यवस्था अन्तर्गत उपदफा (१) मा कुनै अभियुक्त होस् ठेगानमा नरहेको कारणले आफ्नो प्रतिरक्षा गर्न असमर्थ छ भन्ने विश्वास गर्नु पर्ने कुनै मनासिव कारण भएमा अदालतले इजाजत प्राप्त चिकित्सकद्धारा निजको जाँच गराई उपचार गराउन समेत आदेश गर्न सक्ने प्रावधान छ। 

यही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिम जाँच गराउँदा अभियुक्त मानसिक अस्वस्थताको कारणले आफ्नो प्रतिरक्षा गर्न असमर्थ देखिएमा त्यसको आदेश पर्चा खडा गरी निजको हकमा मुद्दा मुलतवी राख्नु पर्नेछ भन्ने प्रावधान छ। यही प्रयोजनका लागि विशेष अदालतले वीर अस्पतालबाट स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको हो। 

प्रतिवेदन प्राप्त भएपछि अर्को पेशीमा यस बारे विशेषले निर्णय गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad