समाज


रोल्पा अस्पतालको आइसोलेसनमा बितेका युवक भर्खरै काठमाडौंबाट फर्किएका थिए

रोल्पा अस्पतालको आइसोलेसनमा बितेका युवक भर्खरै काठमाडौंबाट फर्किएका थिए

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ४:१४,

रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना आशंकित युवक आइतबार मात्रै काठमाडौंबाट फर्किएको पाइएको छ।

रोल्पा नगरपालिकाका प्रमुख (मेयर) पूर्ण केसीले मंगलबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार २२ वर्षीय ती युवक आइतबार राति मात्र काठमाडौंबाट गाउँ फर्किएका थिए। ती युवक रोल्पा नगरपालिकाकै वडा नम्बर १ का बासिन्दा हुन्।

‘उनी लामो समयपछि काठमाडौंबाट आइतबार गाउँ फर्किएका थिए,’ टेलिफोनमा मेयर केसीले भने, ‘अवस्था चिन्ताजनक देखिएपछि उनलाई जिल्ला (रोल्पा) अस्पताल पठाएका थियौं, अस्पतालले त्यही (आइतबार) राति १० बजेतिर आइसोलेसनमा राखेको थियो तर सोमबार अपराह्न ४ बजेतिर उनको निधन भयो।’

मेयर केसीका अनुसार उनी मिर्गाैला रोगी थिए। दुवै मिर्गाैलाले काम गर्न छाडेका उनी एक-डेढ वर्षदेखि काठमाडौंमा बसेर त्रिवि शिक्षण अस्पतालमा डायलासिस गराइरहेका थिए।

‘लकडाउन पनि भयो, घर नआएको पनि लामो समय भइसकेको थियो,’ मेयर केसीले भने, ‘सायद न्यास्रो लागेर होला उनी गाउँ फर्किएका थिए, अब यतै डायलासिसको व्यवस्था गराउने भनेर हामीले पनि लमहीमा कुरा गर्दै थियौं।’

उनलाई किन राखिएको थियो आइसोलेसनमा?
उनी त्यसै पनि मिर्गौलाका गम्भीर बिरामी थिए। त्योभन्दा पनि अहिले रोल्पामा बाहिर जिल्लाबाट आएका जो कोहीलाई पहिले अस्पताल लगेर जाँच गराइन्छ र क्वारेन्टिनमा राखिन्छ।

सोही नियमअनुसार उनलाई आएको राति नै रोल्पा जिल्ला अस्पताल लगिएको थियो। 

बाहिरबाट आएका हुनाले उनमा पनि काेराेना हुन सक्छ भनेर आरडीटी जाँच गरियाे। तर त्यसकाे रिपाेर्ट नेगेटिभ आएकाे राेल्पा नगरपालिकाका मेयर पूर्ण केसी बताउँछन्। ‘तर पनि उनलाई किन हो चिकित्सकले आइसोलेसनमै राखे,’ उनले भने, ‘सोमबार अपराह्न अचानक उनको मृत्यु भयो।’

मेयर केसीका अनुसार उनलाई कोरोना थियो कि थिएन भनेर निश्चित गर्न उनको स्वाब दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ‘अब हामी त्यो रिपोर्टको प्रतिक्षाामा छौं,’ उनले भने, ‘रिपोर्ट आज साँझसम्म आइपुग्ला कि?’ 

मेयर केसीका अनुसार ती युवकमा कोरोनाको कुनै लक्षण भने थिएन।

‘जहाँसम्म लाग्छ, उनको मृत्यु कोरोनाले नभएर मिर्गाैलाकै कारण भएको हुनुपर्छ,’ उनले भने, ‘तर पनि उनी काठमाडौंमा लामो समयदेखि बसेको तथा हस्पिटलमा गएकाले हुन पनि सक्छ, अब रिपोर्ट आएपछि थाहा होला।’

तर रिपोर्ट नआउँदै दाहसंस्कारको तयारी
अहिले ती युवकको शव राप्ती जिल्ला अस्पतालमै छ। तर त्यस अस्पतालमा चिस्यान केन्द्र नभएकाले शव सड्ने जोखिमका कारण रिपोर्ट नआउँदै दाहसंस्कार गर्ने तयारी भइरहेको मेयर केसीले जानकारी दिए।

त्यसका लागि अहिले त्यहाँ नेपाली सेनाको टोलीलगायत भेला भएका छन्। 

‘तर कोरोनाकै विधिबाट दाहासंस्कार गरिनेछ,’ मेयर केसीले भने, ‘सतर्कता अपनाएपछि रिपोर्ट जस्तो आए पनि ढुक्क भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad