नयाँ शैक्षिक सत्र २०८३ बाट विद्यालयहरूमा पनि हप्ताको दुई दिन बिदा कार्यान्वयन भएको छ। सरकारले २०८२ चैत २२ गते सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आइतबार समेत बिदा गर्ने निर्णय गरेको हो।
शिक्षा नियमावलीमा एक शैक्षिक सत्रमा हिउँदे र बर्खे बिदा गरेर विद्यालयमा वर्षमा ४५ दिन बिदा गर्न सकिने व्यवस्था छ। यस्तै विद्यालय व्यवस्थापन समितिले थप ५ दिन स्थानीय बिदा दिन सक्ने व्यवस्था छ।
यो व्यवस्थाअनुसार विद्यालयमा ५० दिन बिदा हुन्छ। यसबाहेक दसैँ-तिहारलगायत विभिन्न चाडपर्व तथा सार्वजनिक बिदा पनि हुन्छ। शनिबारका साथै अब वर्षको ५० दिन आइतबार बिदा हुने भएपछि विद्यालय खुल्ने र पठनपाठन हुने दिन घटेको छ। यो शैक्षिक सत्रमा विगतका वर्षभन्दा २ हप्ता ढिलो पठनपाठन सुरु भएको छ।
शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुलेको हुनुपर्छ।
आइतबारे बिदाका कारण समयमा कोर्स नसकिने र पाठ्यक्रमले तोकेको सक्षमता हासिल नहुने गुनासो शिक्षकहरूले गरेका छन्। पढाउनुपर्ने कोर्स र कन्टेन्ट उही, तर पढाइ हुने दिन घटेपछि पठनपाठन कसरी व्यवस्थापन गर्ने भनेर उनीहरू अन्योलमा छन्। बिनातयारी गरिएको सरकारी निर्णयबाट विद्यालयदेखि स्थानीय तह अलमलमा छन्।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेल पनि आइतबारको बिदाले विद्यालय खुल्ने र पठनपाठन हुनुपर्ने दिनमा निश्चित रूपमा असर पार्ने स्वीकार्छन्।
पौडेल भन्छन्, ‘आइतबारे बिदाको क्षतिपूर्तिका लागि हिउँदे र बर्खे बिदाबाट १५ दिन कटौती गर्ने प्रस्ताव गरिएको छ। यसबाट पूरै क्षतिपूर्ति त हुँदैन तर वर्षमा ५० दिनको आइतबारको बिदाको नोक्सानीको केही क्षतिपूर्ति त हुन्छ।’
शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा हुने भएपछि पठनपाठन कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सुझाव दिन वैशाख ११ गते शिक्षामन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको थियो। यो कार्यदलमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक पौडेल पनि सदस्य थिए।
यस्तै, उनको संयोजकत्वमा आन्तरिक मूल्यांकनसम्बन्धी कार्यदल गठन भएको थियो। सरकारले सार्वजनिक गरेको शासकीय सुधारका सय बुँदे कार्यसूचीमा कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नलिने उल्लेख गरिएको थियो।
महानिर्देशक पौडेलका अनुसार दुवै कार्यदलले तयार पारेका मस्यौदा हालै शिक्षा मन्त्रालयमा बुझाइसकिएको छ।
पठनपाठन व्यवस्थापनका लागि बिदा कटौतीसँगै अन्य उपायका बारेमा पनि सुझाइएको छ। पाठ्यक्रम समायोजन गरेर पठनपाठन गरिने प्रस्ताव राखिएको छ।

‘भूकम्प र कोभिडका बेला पाठ्यक्रमक समायोजन गरेको अनुभव हामीसँग छ। पाठ्यक्रम समायोजन गरेर पनि पठनपाठन व्यवस्थापन गर्न सकिन्छ,’ महानिर्देशक पौडेलले भने।
शिक्षकहरूले भने अनावश्यक तथा अव्यावहारिक विषयवस्तु हटाएर पाठ्यक्रम परिमार्जन गर्नुपर्ने सबभन्दा राम्रो विकल्प हुने बताएका छन्।
महानिर्देशक पौडेलका अनुसार यसमा काम सुरु भइसकेको छ। तर, पाठ्यक्रम परिमार्जनका लागि प्रक्रियामा समय लाग्ने भएकोले तत्कालका लागि गर्न सकिने उपायहरू खोज्नुपरेको हो।
यस्तै, आन्तरिक मूल्यांकनका सम्बन्धमा कक्षा ४ र ५ मा पनि कक्षा १–३ को एकीकृत पाठ्यक्रमसँग तादात्म्य हुनेगरी मूल्यांकन गर्ने प्रस्ताव गरिएको छ। महानिर्देशक पौडेल भन्छन्, ‘विद्यार्थीको व्यक्तिगत अभिलेख राखी विद्यार्थीको सिकाइस्तर रेटिङ गर्ने र माथिल्लो तहमा पुर्याउन सहयोग गर्ने कक्षा १–३ को जस्तै खाका तयार गरेका छौँ।’
कक्षा १–३ को एकीकृत पाठ्यक्रमको मूल मर्म सिकाइका लागि मूल्याङ्कन हो। यसले लिखित परीक्षालाई नभएर कक्षाकोठामा गरिने मूल्याङ्कनलाई जोड दिएको छ। पाठ्यक्रमअनुसार हरेक विद्यार्थीको पोर्टफोलियो बनाई कक्षाकार्य, परियोजनाकार्य, उपलब्धि परीक्षा, लिखित कार्य, मौखिक कार्य, व्यवहार परिवर्तन, हाजिरीका आधारमा उपलब्धिस्तर मापन गर्नु पर्छ। विद्यार्थीको सिकाइस्तर हेरी सिकाइमा निरन्तर सुधार गर्ने अवसर दिनु पर्छ।

एकीकृत पाठ्यक्रमले मूल्याङ्कनका लागि लिखित परीक्षालाई मान्यता दिएको छैन। तर, व्यवहारमा प्राय: लिखित परीक्षा नै लिने गरिएको छ। एकीकृत पाठ्यक्रम २०७६ मा परीक्षण गरिएपछि, २०७७ सालदेखि देशभरि लागु गरिएको थियो।
तर अझै पनि सबै शिक्षकलााई तालिम र अभिमुखीकरण हुन नसक्दा एकीकृत पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ। जसले जसरी बुझेका छन्, त्यसरी नै मूल्याङ्कन गरिरहेका छन्।
यस्तो अवस्थामा बिनातयारी कसरी कक्षा ४ र ५ मा पनि आन्तरिक मूल्याङ्कन प्रभावकारी हुन सक्छ? शिक्षकलाई कसरी तयार गर्ने योजना छ? साताको दुई दिन बिदापछि पठनपाठनमा हुने नोक्सानीका लागि के-के व्यवस्था गर्न लागिएको छ?
यिनै विषयवस्तुमा केन्द्रित रहेर पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलसँग गरिएको भिडिओ कुराकानी–
भिडिओ
Shares

प्रतिक्रिया