ललितपुरको कृष्ण मन्दिरमा दाजु–भाइको हत्या अभियोगमा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत ललितपुरले बुधबार पक्राउ परेर प्रतिवादी बनाइएका तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
झापाका ३३ वर्षीय सुमित र २६ वर्षका सिर्जन नेम्वाङको चैत २५ गते हत्या भएको थियो। धारिलो हतियार प्रहार गर्ने सञ्जिव नेपाली र उनीसँगै स्कुटरमा घटनास्थल पुगेका गगन सुनार कारागार चलान भएका छन्।
यस्तै मृतक दाजुभाइसँग घटनास्थल गएका विकास लिम्बुलाई पनि कारागार चलान गरिएको छ। नेम्वाङ दाजुभाइसँग त्यहाँ गए पनि विकासको हत्यामा संलग्न व्यक्तिहरुसँग पनि चिनजान देखिएपछि प्रतिवादी बनाइएको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूलाई जन्म कैदको सजाय माग गर्दै सोमबार मुद्दा दायर गरेको थियो।
चैत २५ गते दिउँसो सञ्जिवको मोवाइलमा सुमितले कल गरेपछि उनीहरुको विवाद सुरु भएको थियो। विवादकै क्रममा बेलुका कृष्ण मन्दिरमा भेटेका उनीहरूको त्यहाँ कुटाकुट भएको थियो। हतियार साथै लिएर गएका सञ्जिवले पालैपालो दाजुभाइलाई प्रहार गर्दा गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्कमाल बीएण्डबी अस्पताल ग्वार्को लगे पनि उनीहरुको मृत्यु भएको थियो। घटना लगतै दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले पछि विकासलाई पनि पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया