समाज


सुनचाँदी लुट्न आएका व्यक्तिको प्रतिकार गरेकी सञ्जितालाई आईजीपीद्वारा सम्मान

सुनचाँदी लुट्न आएका व्यक्तिको प्रतिकार गरेकी सञ्जितालाई आईजीपीद्वारा सम्मान

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १७:४६, काठमाडौँ

काठमाडौँको एक सुनचाँदी पसलमा लुट्न आएका व्यक्तिको प्रतिकार गरेर चर्चामा आएकी सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्मान गरेका छन्।

काठमाडौँ महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने प्रयास गरेका थिए। 

उनीहरू विरूद्ध प्रतिकार गर्दै ज्वेलर्समा कार्यरत सञ्जिताले लुटपाट हुनबाट जोगाएकी थिइन्।

काठमाडौँ महानगरपालिका–२२ वटु बस्ने सञ्जिताको साहसिक कार्यको सम्मान गर्दै आईजीपी कार्कीले कदर पत्र प्रदान गरी सम्मान गरेका हुन्।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा आईजीपी कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे।

सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने बताए।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। 

सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad