हाल (शनिबार बिहान) मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा आंशिक बादल छ। अनि कोसी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार सोमबारसम्म यस्तो छ वर्षा-हिमपातको सम्भावना:
वैशाख २६ गते (शनिबार)
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी प्रदेशको तराई भूभागका साथै बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल देखिनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
वैशाख २७ गते (आइतबार)
राति : कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोसी प्रदेशको तराई भूभागसहित बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।
वैशाख २८ गते (सोमबार)
दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
राति : लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल देखिनेछ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
आज काठमाडौँमा हल्का वर्षाको सम्भावना
आज (शनिबार) काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा छिटपुट र हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो।
‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना हुँदै नभएको चाहिँ होइन’, उनले आज बिहान नेपालखबरसँग भने, ‘तर सम्भावना कम छ भने वर्षा पनि कम नै हुने सम्भावना छ।’
उनले थपे, ‘त्यस्तो लगातार र ठुलो वर्षा हुने सम्भावना छैन, हल्का/छिटपुट वर्षा हुने सम्भावना छ।’
मौसमविद् ढकालका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘दिउँसोतिर बादल बढ्दै जान्छ तर दिनभर बादल नै बादल हुँदैन, बिचबिचमा घाम पनि देखिन सक्छ’, उनले भने।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

यो पनि : यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग
Shares

प्रतिक्रिया