समाज


सरकारविरुद्ध संगठित हुँदै भूमिहीन सुकुम्बासी, जेठ ३ गते बुटवलमा राष्ट्रिय भेला

सरकारविरुद्ध संगठित हुँदै भूमिहीन सुकुम्बासी, जेठ ३ गते बुटवलमा राष्ट्रिय भेला

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १७:१९, काठमाडौँ

राज्य पक्षबाट भइरहेको डोजर आतंक, जबर्जस्ती विस्थापन र उचित व्यवस्थापन बिनाको उठीबासका विरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आगामी जेठमा राष्ट्रिय भेला गर्ने भएका छन्। 

नेपालभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको हकहित र अधिकारका लागि आवाज उठाउने उद्देश्यले जेठ ३ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो। दशकौंदेखि श्रम र संघर्ष गर्दै अभावका बीच जीवन बिताइरहेका गरिब तथा उत्पीडित समुदायमाथि भइरहेको अन्यायको विरुद्ध र समस्याको दीर्घकालीन समाधानका लागि यो भेला आयोजना गरिएको आयोजकले जनाएका छन्।

भेलामार्फत भूमिहीन सुकुम्बासीहरूको आवास, जग्गाको स्वामित्व र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बन्न आग्रह गरिने बताइएको छ। देशभर फैलिएको विस्थापनको त्रास र अन्यायका विरुद्ध एकीकृत आवाज निर्माण गर्नु नै भेलाको मुख्य उद्देश्य रहेको छ। 

राष्ट्रिय भेलालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आयोजकले विभिन्न उपसमितिहरू गठन गरी कार्य विभाजन समेत गरेको छ। जसअनुसार खगेन्द्र पौडेललाई राष्ट्रिय भेला समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। मञ्च तथा हल व्यवस्थापनको जिम्मेवारी राजु शाहीले पाएका छन् भने स्वयंसेवक तथा ¥याली व्यवस्थापनका लागि राजेश थापा, सकिल मिया, सुनिल कनोजे, शिव मल्ल र दुर्गा गुरुङलाई तोकिएको छ।

त्यसैगरी, सूचना तथा प्रचार–प्रसार संयोजकमा राजकुमार भट्टराई र पूर्णबहादुर विक रहेका छन्। खानेपानी व्यवस्थापनको जिम्मा रिसभ पोखरेललाई दिइएको छ भने टोल संस्था तथा पालिका समन्वयको संयोजकमा ममराज श्रेष्ठ चयन भएका छन्। आर्थिक व्यवस्थापनका लागि ममराज श्रेष्ठ, रोहित साह, विवेक गुवाजु, जीतमान विक र मनिष गुरुङ सम्मिलित समिति गठन गरिएको छ।

यो अभियानलाई प्रभावकारी र जनमुखी बनाउन सञ्चारकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दल र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आयोजकले सबै सरोकारवाला पक्षलाई सहयोगका लागि अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad