समाज


हनिट्र्यापमा पारेर तुल्सी अधिकारीले व्यापारीसँग साढे ६ करोड लिएको आरोप

सम्पत्ति शुद्धीकरणमा २१ करोडभन्दा बढी बिगो
हनिट्र्यापमा पारेर तुल्सी अधिकारीले व्यापारीसँग साढे ६ करोड लिएको आरोप

उजिर कार्की
जेठ १७, २०८३ आइतबार १७:३४, काठमाडौँ

तीन कसुरकी अभियुक्त तुल्सी अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको छ। 

नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने अधिकारीविरुद्ध जिल्ला अदालत ललितपुरमा ठगी, आपराधिक लाभ (हनिट्र्याप) र सम्पत्ति शुद्धीकरणको कसुरमा गत चैतमा मुद्दा दर्ता भएको छ। उनले एक व्यवसायीलाई हनिट्र्यापमा पारेर ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। 

पछि अनुसन्धानको क्रममा ती व्यापारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ आफूले विभिन्न व्यक्तिमार्फत तुल्सीलाई दिइसकेको बताएका छन्। हनिट्र्यापमा उनलाई सो बराबरको बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणमा भने २१ करोड बढी बिगो कायम गरिएको छ। 

आफूविरुद्ध मुद्दा दर्ता हुने भएपछि उनी चीन हुँदै थाइल्यान्ड पुगेको प्रहरीको दाबी छ। उनीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो। 

इन्टरपोलकै सहयोगमा थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति पौने १२ बजे थाइ एयरलाइन्स मार्फत नेपाल ल्याइएको छ। हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेकी उनलाई सोमबार अदालतमा बुझाउने प्रहरीको तयारी छ। 

प्रहरीले अदालतमा बुझाएसँगै उनको त्यहाँ बकपत्र हुनेछ। त्यसपछि थुनामा राख्ने कि, धरौटी वा साधारण तारेखमा बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुने छ।

यस्तो छ आरोप 
तुल्सीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी परेको थियो। जाहेरी दिने व्यक्ति हुन् ललितपुरकै एक अटोमोबाइल्स प्रालिका सञ्चालक।

तुल्सी र ती व्यापारीको चिनजान २०७४ फागुन महिनातिरको हो। तुल्सी पनि बुटवलमा अटोमोबाइल्सकै कर्मचारीका रुपमा काम गर्थिन्।

आफू काम गर्ने कम्पनीमा २ दिनपछि ‘सेकेन्ड ह्यान्ड’ गाडीहरु एक्स्चेन्जमा आउने बताउँदै तुल्सीले आफूलाई फोन गरेर बुटवल बोलाएको दाबी व्यापारीको छ। तर गाडी हेर्न बुटवल नजाने भएपछि उनले ह्वाट्सएप नम्बर मागेर ती व्यापारीलाई फोटो पठाइदिइन्। 

त्यसपछि ती व्यापारी र तुल्सीको कुराकानी हुन थाल्यो। व्यापारीले आफ्नो पारिवारिक विवरण सबै खोले। अनि, तुल्सीले ती व्यापारीलाई बुटवल बोलाइन्। 

‘बुटवलमा आउनु, भेट गरी कुरा गरौँला भनी पटकपटक अनुरोध गरेकोले एकिन मिति र समय याद भएन २०७५ सालको जेष्ठ महिनातिर हुनुपर्छ बुटवलस्थित रहेको जगदम्बा स्टिलको फर्चुनर गाडी डिल भएको हुँदा उक्त गाडी डिल गरी खरिद गर्न म ललितपुरदेखि बुटवल गएँ,’ चिमोरिया थरका व्यापारीले जाहेरीमा उल्लेख गरेका छन्। 

ती व्यापारी गाडी लिएर तुल्सीलाई भेट्न गए। भेट भएपछि खाजा खान जाने सल्लाह भयो। व्यापारीले आफ्नो गाडीको अगाडिको सिटमा बसालेर तुल्सीलाई भैरहवा लगे र खाजा खाने सल्लाहले गएका उनीहरु होटलको कोठामा बसे। 

त्यही बेला तुल्सीसँग शारीरिक सम्पर्क भएको ती व्यवसायीले जाहेरी र बयानमा खुलाएका छन्। त्यसै दिन ती व्यापारी ललितपुरस्थित घर फर्किए। 

तर ती व्यापारी घर फर्किएपछि तुलसीले टेलिफोन गरेर होटलमा भएको शारीरिक सम्पर्कबारे आफ्नो परिवारले थाहा पाएकाले आफूलाई अप्ठेरो परेको बताउन थालिन्। पैसा माग्न थालिन्। आफू अप्ठेरोमा पर्ने डरले ती व्यापारीले पनि मागेजति पैसा खुरुखुरु पठाउन थाले।

‘निजसँग रिलेसनमा बसेको दिनपछि निजले सोही कुरा निकाली मसँग ठूलो डिमान्ड गर्न थालिन्। मैले पैसा छैन भनी कुरा गर्दा निजले तपाईं र मबिच भएको सम्बन्धको बारेमा मेरो आफन्तले थाहा पाई प्रहरी केस गर भन्दैछन्। म मानेको छैन। तपाईंको लागि भन्दैछु, म आफ्नो आफन्तसँग कुरा गरिरहेको छु, मैले भने अनुसारको पैसा दिनुभएन भने मेरो त बेइज्जत हुने भयो, तपाईंले मेरो व्यवस्थापन गरी दिनुहोस्, नत्र म विवश भएर तपाईंविरुद्ध करणी मुद्दा हाल्दिन्छु,’ व्यापारीले जाहेरीमा दाबी गरेका छन्।

त्यसपछि तुल्सीले ललितपुर आउँछु भन्दै फोन गर्न थालिन्। आफू र आफ्नो छोरीको व्यवस्थापन गरिदिनु पर्ने उनको सर्त थियो। व्यापारी त्यसका लागि तयार भए। 

ललितपुरको नखिपोटमा ३ कोठाको एउटा फ्ल्याट भाडामा लिए। 

२०७६ सालतिर तुल्सीले आफूलाई कोठामा बसेर समय बिताउन गाह्रो भएको भन्दै पसल खोलिदिन भनिन्। ती व्यापारीले सातदोबाटो चोकनजिक ७ लाख ७५ हजार रुपैयाँमा फेन्सी पसल खरिद गरिदिए।

तर तुल्सीले लामो समय त्यो पसल चलाउन मानिनन्। अर्को पसल चाहियो भन्न थालिन्। 

‘मैले अब मसँग पैसा छैन। मेरो कम्पनीको पैसा धेरै बाहिरियो भन्दा तैँले नगरे तेरो घरमा गई तेरो घर परिवारसँग कुरा गर्छु भनिन्। त्यसपछि इमाडोलस्थित बाहुनधारा चोकमा ६ लाख ७५ हजारमा पसल किनिदिए र पसलको नाम पनि तुल्सा कलेक्सन राखे। तर यतिले पनि ती व्यापारीको संकट टरेन। 

व्यापारीका अनुसार तुल्सीले केही समयपछि नै कपडा पसल नगर्ने धातु र स्टोन सम्बन्धी व्यापार गर्छु भन्न थालिन्। यसका लागि पटकपटक गरी २५ लाख रुपैयाँ लिएको ती व्यापारीको दाबी छ।

पसलको सामान लिन कहिले भारत र कहिले चीन जान्छु भन्दै पैसा मागेको पनि उनले बताएका छन्। उनले पठाएका दुई जना व्यक्तिलाई पटक–पटक गरी ९० लाख रुपैयाँ दिएको उनले बताएका छन्। 

२०८० सालतिर भारततिर घुम्न गएको छु भनी पटकपटक मागेर ८० लाख रुपैयाँ तुल्सीलाई पठाएको उनको दाबी छ।

यस्तै ललितपुरको कुमारीपाटीमा ठूलो पसल खोल्दिनु पर्छ भनी माग गरेपछि आफूलाई मुद्दा हाल्ने डरले पसल खोलिदिएको र मासिक भाडा समेत ती व्यापारीले नै तिरेको दाबी गरेका छन्।

त्यतिबेला आफूसँग १५ लाख रुपैयाँ लगेको र उनकी छोरी पढाउन विद्यालयमा भर्ना गरिदिएको, मासिक १७ हजारदेखि २२ हजार रुपैयाँसम्म बुझाएको पनि उनले बताएका छन्। 

यसरी जबर्जस्ती करणीको मुद्दा हालिदिन्छु भन्दै डर देखाएर गरगहना र आइफोन पनि किनाएको उनको आरोप छ। 

‘निजले भने अनुसारको काम गर्दा अब त छुटकारा पाइयो होला भन्ने सोच राखी आफ्नो व्यवसाय गरी आफ्नो घर परिवारसँग बस्दै आएको थिएँ। मैले सञ्चालन गरेको अटोमोबाइल्स प्रालि ४ करोड ५० लाख रुपैयाँ घाटामा पुग्दा पनि मानप्रतिष्ठाले गर्दा चलाउँदै आएको थिएँ,’ उनले जाहेरीमा लेखेका छन्।

तुल्सीको फोन र म्यासेजको तनावले संसारै छोड्ने सोच समेत आएको तर आफ्नो घर परिवारलाई ठूलो दाग लाने भएकाले परिवारको लागि भए पनि बाँच्छु भनी सम्पूर्ण व्यहोरा आफ्नो श्रीमतीलाई सेयर गरेको उनले प्रहरीलाई बताएका छन्। 

‘तुल्सी अधिकारीले मलाई विभिन्न किसिमको ब्ल्याकमेलिङ गरी विभिन्न किसिमको डरत्रास देखाई मैले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा हालसम्म पनि मान्छे पठाई डर त्रास देखाई धाकधम्की दिई झुट्टा मुद्दा लगाइदिन्छु भनी पटकपटक मलाई ट्र्यापमा पारी ४ करोड ५० लाख रुपैयाँ बराबरको आपराधिक लाभ लिएको हुँदा कानुनी उपचारको लागि जाहेरी दरखास्त लिई उपस्थित भएको छु,’ उनले जाहेरीमा दाबी गरेका छन्।  

सुरुमा जाहेरी दिएका उनले पछि आफूले बुझाएको रकमको विस्तृत विवरण पनि प्रहरीलाई उपलब्ध गराएका थिए। तुल्सीले बैंकमार्फत रकम लिन नमानेकाले नगदै दिएको पनि उनको दाबी छ।  

आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीलाई पनि उनले चेक काटेर नगद साट्दै तुल्सीको नाममा भुक्तानी दिएको बताएका छन्। उनले ४० लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको भन्दै खाता विवरण र भौचर उपलब्ध गराएका छन्। 

सुरेन्द्रभक्त सुवाल भन्ने व्यक्तिको खातामा पटकपटक गरी ५४ लाख २५ हजार रुपैयाँ जम्मा गरिदिएको उनको दाबी छ। तुल्सी अधिकारी भारतमै हुँदा ती व्यापारीले उनका लागि ललितपुरको कुमारीपाटीमा पसल सञ्चालन गरिदिएका थिए। 

मासिक ७० हजारका दरले ७ महिनाको भाडा ४ लाख ९० हजार रुपैयाँ पनि आफैँले बुझाइदिएको ती व्यापारीको दाबी छ। पसल व्यवस्थापन (डेकोरेसन) गर्दा ११ लाख रुपैयाँ खर्च भएको उनको दाबी छ।

३ वटा पसल खरिद, नगद रकम र महँगा सुनका गर–गहना खरिद गरेको रकम तिर्दा समेत छुटकारा नपाएपछि धातु र स्टोन पसल खरिद गर्दा लागेको मर्मत र मासिक भाडा तिर्न लगाएको रकम फिर्ता गर्न दबाब दिएका थिए। 

‘रकम फिर्ता गर्ने भए गर नत्र म अब यो संसारमा रहने अवस्था भएन भनी निज तुल्सी अधिकारीलाई भन्दा निजले जे गर्न सक्छस् गर्, तैँले गरेको कर्मको फल भोग्नुपर्छ भन्दै डर त्रास देखाई धाकधम्की दिएपश्चात् मैले त्यसो भए म मर्ने निर्णय गरेँ भनेपछि निजले तैले खोलेको पसल जे गर्न मन लाग्छ गर भनेकोले आफ्नो व्यवहार मिलाउन ५० लाख रुपैयाँमा काठमाडौँको विशालबजारस्थित रहेको सपना नाम गरेको व्यक्तिलाई पसल बेचेँ,’ ती व्यापारीले भनेका छन्।

तर त्यसपछि त्यो रकम आफूलाई नदिए जेलको बास हुन्छ भनेपछि १० लाख रुपैयाँ दिएको दाबी उनले गरेका छन्। यस्तै छोरीको स्कुल फी समेत ९ लाख ३५ हजार ८६५ रुपैयाँ तिरिदिएको दाबी ती व्यापारीले गरेका छन्। 

त्यसपछि पनि पटकपटक रकम माग गर्न नछाडेको भन्दै उनले पठाएको व्यक्तिलाई फेरि १९ लाख ४८ हजार ७५० रुपैयाँ दिएको तर तुल्सीले ३० लाख नै चाहिन्छ भनेको उनको दाबी छ।

त्यसपछि तुल्सीले पैसा लिनका लागि अर्को व्यक्ति आफ्नो कार्यालयमै पठाएको दाबी उनको छ। ती व्यक्तिलाई ६ लाख दिएको र दिलकुमारी लिम्बूको खातामा ४ लाख ५० हजार रुपैयाँ समेत जम्मा गरी ३० लाख नै दिएको बताएका छन्।
 
तुल्सी अधिकारीले सुनका गहना, हिरा, आइफोन, हवाइ टिकटहरु किनेको पैसा तिर्न समेत लगाउने, पसलका सजावटका सामान, टीभी, फ्रिज, वासिङ मेसिन र अन्य सामग्रीहरु खरिद गरेको रकम समेत गरी १ करोड बराबरको सामानहरुको भुक्तानी गराएको ती व्यापारीको जाहेरीमा उल्लेख छ।

२०८१ वैशाखपछि तुल्सी सम्पर्कविहीन भएपछि अब डरत्रासबाट मुक्ति पाएँ भन्ने ठानेको उनको भनाइ छ।

तर, जाहेरीअनुसार २०८१ फागुन १३ गते पुनः तुल्सी अधिकारीसँगै हिँड्ने एक जना महिला उनको कार्यालयमा पुगेर भनिन्, ‘तुल्सी अधिकारीले तपाईंको विरुद्धमा जबर्जस्ती करणीमा मुद्दा हाल्न जाहेरी तयार गर्नु भनेको हुँदा मैले जाहेरी तयार गरेर बसेको छु। तपाईंले तुल्सी अधिकारीले भने बमोजिम गर्नू, तपाईंको माया लागेर भन्न आएको हुँ।’

आफ्नो मोबाइल निकालेर उनले ती व्यापारीविरुद्धको जाहेरी दरखास्तको फोटो देखाइन्। त्यसपछि तुल्सीले सामाजिक सञ्जालमा आफूले चाहे उजुरी गर्न सक्ने भन्दै भिडिओ बनाएर पोस्ट गरेकी थिइन्। 

सामाजिक सञ्जालको प्रयोग गर्दै तुल्सीले थप डरत्रासमा पारेपछि ती व्यापारी प्रहरी वृत्त सातदोबाटोमा पुगेका थिए। अहिले अदालतमा विचाराधीन मुद्दामा तुल्सीसहित ९ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ। 

अरु ८ जना तुल्सीको रकम उठाउन प्रयोग भएका व्यक्तिहरु छन्। भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। 

उनको तुलसा कलेक्सनलाई पनि प्रतिवादी बनाइएको छ। 

अधिकारीले गरिमा विकास बैंकको लकरमा ८४ लाख ६० हजार ५०० रुपैयाँ बराबरको गरगहना राखेको पनि अनुसन्धानका क्रममा फेला परेको छ। ललितपुरको सैँबुमा ४ करोड ७ लाख ९५ हजार रुपैयाँ बराबरको जग्गा छ। 

सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ बिगो कायम गरिएको छ। १० वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ। उनका नामका सम्पत्ति जफतको समेत माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad