स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका धेरै ठाउँमा कोरोना केही होइन भनेर हेलचक्र्याइँ बढेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।
कोरोना संक्रमणसम्बन्धी दैनिक जानकारी गराउने क्रममा शुक्रबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट मृत्युसमेत भोगिसकेको अवस्थामा यसलाई गम्भीर रूपमा लिन आग्रह गरेका हुन्।
‘धेरैजसो ठाउँहरूमा केही हुँदैन, यो सामान्य हो भनेर पनि केही हेलचक्र्याइँ गरिएको, अब केही हुँदैन, ठीकै छ भन्ने सोच आएको भन्ने पनि हामीले सोचेका छौं,’ प्रवक्ता देवकोटाले सचेत गराउँदै भने, ‘त्यसो पटक्कै होइन, चुनौतीका दिन आउँदै छन्।’
त्यसैले कोभिड-१९ (कोरोना) नियन्त्रण र रोकथाममा हामी हरेक जिम्मेवार हुन जरुरी रहेको प्रवक्ता देवकोटाले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अपराह्नसम्म नेपालमा कोरोनाबाट ५०७ जना संक्रमित भइसकेका छन्, तीमध्ये ३ जनाको मृत्युसमेत भइसकेको छ।
संक्रमितमध्ये अहिलेसम्म ७० जना निकाे भई अस्पतालबाट डिस्चार्ज भएकाे पनि मन्त्रालयले जानकारी दिएकाे छ।
धेरैजसाेकाे अवस्था जटिल नभएकाले काेराेनाले केही गर्दैन भनेर धेरै ठाउँमा हेलचक्र्याइँ बढेकाे सूचना आएको भन्दै प्रवक्ता देवकाेटाले पत्रकार सम्मेलनकाे अन्त्यमा मन्त्रालयकाे अनुराेध भनेर सचेत गराएका हुन्।
डिस्चार्ज भएका बिरामीमा जटिल अवस्था नदेखिएकाे भए पनि काेराेनाकै कारण देशले मृत्युसमेत भाेगिसकेकाले यसलाई मनन गरी पटक्कै हेलचक्र्याइँ नगर्न उनकाे आग्रह छ।

प्रतिक्रिया