नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को तुइनखोलामा खसेको पहिरो हटाइएपछि दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ।
बुधबार राति करिब ९ बजे अचानक पहिरो खस्दा यो सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका थिए। रातभर यात्रीले सास्ती पाएका थिए।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार रातभरि डोजर तथा प्राविधिक टोली परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो।
सडकमा थुप्रिएको माटो, ढुङ्गा तथा गेग्रान हटाएपछि बिहीबार (आज)बिहानदेखि दुवैतर्फ सवारी साधन सञ्चालनमा ल्याइएको हो।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको जानकारी दिँदै वर्षायामका कारण उक्त क्षेत्रमा अझै जोखिम कायम रहेको बताए।
तुइनखोला आसपासका भीरबाट बेलाबेलामा ढुङ्गा र पहिरो खस्ने भएकाले सडकको निरन्तर निगरानी भइरहेको उनको भनाइ छ।
सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कतापूर्वक यात्रा गर्न र मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।
Shares

प्रतिक्रिया