समाज


आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

एमएस्सी गरेर पनि विवेक मण्डल बेरोजगार थिए
आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

नेपालखबर
असार ३०, २०८३ मंगलबार ९:५७, काठमाडौँ

आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ। उनको ८५ प्रतिशत शरीरमा जलन भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए।

अस्पताल प्रशासनका अनुसार गएराति २ बजेतिर उनको निधन भएको हो।

सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेकले गएको शुक्रबार आफ्नै घरमा हुँदा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

उनलाई त्यही दिन साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत  उपचारका लागि कीर्तिपुर, काठमाडौँ ल्याइएको थियो। 

विज्ञान विषयमा स्नाकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले उनमा केही समयदेखि मानसिक समस्या देखिएको परिवारका सदस्यले बताएका छन्।  

उनको पारिवारिक स्रोतका अनुसार एमएस्सीको पढाई पूरा गरेपछि उनले केही समय महोत्तरीको गौशालास्थित एक माविमा तीन वर्ष पढाएका थिए। तर विद्यालय भित्रको राजनीतिक दवावका कारण विवेकले शिक्षण पेशा छोड्नु परेको थियो। 

त्यसयता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन्।  विभिन्न विद्यालय र कलेजमा रोजगारीमा समेत प्रयास गरेका विवेकले लोकसेवाको परीक्षा समेत प्रयास गरेका थिए। तर सबैतिर असफल भए पछि विवेक मानसिक रुपमा कमजोर बन्दै गएका थिए। 

विवेककै अध्ययनका लागि उनका अभिभावकले वैंकबाट तथा गाउँघरबाट ३५ लाख रुपैयाँ ऋणसमेत लिएको थियो। आफू बेरोजगार भए पछि ऋण तिर्न नसकेर घरमा नै बस्नु परेका कारण पनि  विवेक तनावमा रहेको परिवारले जनाएको छ। 

उनको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुःख व्यक्त गरेका छन्। सिंहले अथक प्रयासका बाबजुद मण्डललाई बचाउन नसकिएको बताएका छन्।

‘विवेक मन्डललाई बचाउन मेरो ब्यक्तिगत, सरकार र डाक्टरहरुले कुनै कसर बाकी राखेको थिएन। अथक प्रयासका बाब्जुद उनको निधन भएको छ। उनको दुस्खद र असमायिक निधनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै शोकसन्तप्त परिवारजनमा गहिरो सम्बेदना ब्यक्त गर्दछु। विवेकको परिवारलाई आफूबाट हुनसक्ने हरेक सहयोग आजिवन गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad