जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ।
उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो।
अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
अनुगमनमा क्रममा भेटिएको प्रयोग गर्न नमिल्ने झण्डै १२ किलो फलफूल नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालयले व्यवसाय दर्ता तथा नवीकरण गर्न, जुस बनाउन प्रयोग हुने सामग्री नियमित सफाइ गर्न र प्रयोग गर्न नमिल्ने फलफूल अलग्गै छुट्टाएर नष्ट गर्न जुस पसल सञ्चालकलाई निर्देशन दिएको छ। रासस
Shares

प्रतिक्रिया