समाज


अझ दाेब्बर बनेर कोरोना महामारीकाे दोस्रो लहर आउला? यस्ताे छ अनुमान

अझ दाेब्बर बनेर कोरोना महामारीकाे दोस्रो लहर आउला? यस्ताे छ अनुमान

नेपालखबर
जेठ १७, २०७७ शनिबार ५:१९,

शनिबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट विश्वभर ६० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने साढे ३ लाख जनाको ज्यान गइसकेको छ।

नेपालमा पनि कोरोनाबाट अहिलेसम्म १२ सयभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।

अझै यसको संक्रमण विश्वका विभिन्न देशमा फैलिँदो छ। यसबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसको दोस्रो लहर अझ दोब्बर मात्रामा फर्किन पनि सक्छ भन्दै चेतावनीसमेत दिएको छ।

साँच्चै महामारीको दोस्रो लहर आउला?

महामारीको इतिहास हेर्दा निश्चित रूपमा होसियार भने रहनैपर्ने देखाउँछ। मध्ययुगदेखि नै महामारी विभिन्न लहरमा आएका छन्। त्यसपछि अन्य महामारी पनि त्यस्तै भए। एक शताब्दीअगाडि विश्वलाई तहसनहस बनाएको स्पेनिस फ्लुको दोस्रो लहर पनि आएको थियो, जसले पहिलो लहरले भन्दा बढी मानिसको ज्यान लियो।

त्यसयता विश्वमा स्वास्थ्य विज्ञान तथा प्रविधिको व्यापक विकास भएको छ। तर हालैका वर्षमा सार्स र मर्सजस्ता खतरनाक भाइरसको दोस्रो लहर भने खासै देखापरेनन्। तर स्वाइन फ्लुजस्ता अन्य ठूला महामारीको भने दोस्रो लहर आएको थियो।

उसो भए अहिलेको कोरोना महामारी के होला त?

विज्ञका अनुसार सबै भाइरस ठ्याक्कै उही प्रकृतिका हुँदैनन्। तर हामीलाई सबैलाई थाहा छ- यस्ता भाइरस एक व्यक्तिबाट अर्काेमा सर्छ।

विज्ञका अनुसार कुनै पनि महामारी त्यति बेलासम्म कायम रहन्छ, जतिबेलासम्म एक जना संक्रमित व्यक्तिले एकभन्दा बढी मानिसमा संक्रमण सार्छ। त्यो औसत संख्यालाई आर संख्या भनिन्छ। जसको दर एकभन्दा कम अर्थात् शून्यमा झारेपछि मात्रै महामारी रोक्न सकिन्छ।

त्यसैले शारीरिक दूरी र कन्ट्याक्ट ट्रेसिङजस्ता नियम हामीले अझै केही समय जीवनशैलीका रूपमा जारी राख्न आवश्यक छ।

अर्काे कुरा, एकपटक निको भएका कोरोनाका बिरामी यस भाइरसबाट पुनः संक्रमण हुनबाट कति समयसम्म सुरक्षित रहन सक्छ तथा यो भाइरस फैलिनमा कुनै मौसम विशेषले महत्वपूर्ण भूमिका खेल्न सक्छ कि सक्दैन भन्ने पनि जान्न जरुरी छ।

तर यसबारे अनुसन्धानकर्ताले निचोड निकालिसकेका छैनन्।

विज्ञहरू भाइरसमा आनुवांशिक परिवर्तन आएर कम वा बढी शक्तिशाली हुन्छन् कि भनेर पनि अध्ययन गर्दै छन्। यसर्थ कोरोना महामारीको दोस्रो लहर आउला वा नआउला स्पष्ट भइसकेको छैन।

कथं खोप विकास भइहाल्यो भने अवस्थामा ठूलो परिवर्तन पनि आउन सक्छ। तर त्यतिन्जेल हामीले कोरोना संक्रमणबाट बच्न अपनाइएको उपायमा लापरबाही गरियो भनेचाहिँ यो व्यापक बनेर फैलिन सक्छ।बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad