समाज


हजारौँ भारतीय नागरिक सीमामा अलपत्र

हजारौँ भारतीय नागरिक सीमामा अलपत्र

नरेश केसी
जेठ २०, २०७७ मंगलबार ९:१,

रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन्। दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन्।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा उनीहरु सीमामै रोकिएका छन्। भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन।

स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन्। करिब सात हजारभन्दा बढी भारतीय नागरिक सीमावारि नेपालतर्फ रोकिएका छन्।

भारत फरिदपुरका रौनक तीनवर्षे बालक, पाँचवर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि घर फर्कने बाटो कुरेर बस्दै आएका छन्।
इँटाभट्टाका मजदुर रौनकले भने, ‘यहाँ खानालाई समस्या छैन। यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ। तर बस्नचाहिँ यही सडकमै बसेका छौँ।’

‘जत्तिसक्दो छिट्टै घर जान पाए हुन्थ्यो’, उनले भने, ‘भट्टाबाट यहाँसम्म त आइयो, दिनदिनै भारतबाट नेपाली आफ्नो देश आइरहेका छन्। तर, हामीलाई भारत सरकारले अझै लिन आएको छैन। यता काम नपाएझैँ सडकमै दिनरात बस्नुपरेको छ। उता घरमा खेतीपाती गर्ने कोही छैन।’

दुखः पर्दा सबैलाई जन्मथलो प्यारो हुने बेलहिया सडकमा भेट्टिएका भारतको पिपीगन्ज निवासी ५२ वर्षीय वकिल मुसलमानले भने, ‘भारतबाट नेपाली जन्मथलो आइरहेका छन्। हामी नेपालबाट आफ्नै जन्मथलो फर्कने बाटो कुरेर सडकमा बसिरहेका छौँ।’

भारत कताराका संतराजलाई पनि दुई भाइसँगै घर जाने क्रममा सीमामा रोकिएको तीन दिन पूरा भएको छ।

पत्रकारलाई देख्नासाथ उनले भने, ‘सर हाम्रो कुरा भारत सरकारलाई पुर्‍याइदिनुपर्‍यो, हामी कहिलेसम्म बोर्डरमा बस्ने हो। के हामीलाई आफ्नो देश जान अनुमति छैन?’

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले बताए।

उनले भने, ‘हामी दिनदिनै सीमामै स्वयंसेवकका रूपमा खटिएका छौँ। भारतबाट दैनिक १२–१३ सय नेपाली आउने गरेका छन्। तर यताबाट भारततर्फ जानेहरु बढीमा दैनिक ८०० जति छन्।’

देशैभरका नागरिक हुलकाहुल आउँदा भैरहवामा व्यवस्थापन गर्न समस्या भएको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अजय गुप्ताले बताए। उनले देशैभरका भट्टामा काम गर्ने भारतको उत्तरप्रदेशका नागरिक एकैसाथ आउँदा समस्या भइरहेको बताए। यहाँ रहेका भारतीय नागरिक पारि नजाँदासम्म केही समय भट्टामा नै मजदुरको व्यवस्थापन गर्न प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

प्रदेश नं ५ का विभिन्न जिल्लामा मात्रै २१० भट्टा रहेका छन्। ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन्। एउटा उद्योगमा १०० भन्दा बढी मजदुर काम गर्ने गर्दछन्। दशैँतिहारपछि आएर वैशाखको दोस्रो सातादेखि घर जाने मजदुर खेतीपातीका लागि घर फर्किन थालेका हुन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारततर्फको प्रक्रियागत ढिलाइका कारणले मजदुर रोकिराखेको बताए। भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई मुख्यरूपमा बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएकाले उत्तर प्रदेशबाट आएर नेपालका विभिन्न जिल्लामा मजदुरी गरी बसेका भारतीय नागरिकको केही भीड देखिएको उनले बताए।

उनले भने, ‘दैनिक एक हजारभन्दा बढीलाई भारतले स्वदेश भित्र्याएको छ। बाँकी करिब आठ हजार जति सीमानाकामा रोकिएर स्वदेश फर्कने प्रक्रियामै रहेका छन्।’

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा काम गर्ने भारतीय मजदुरको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी उद्धार गर्दै आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad