सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल ल्याइने भएको छ।
कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबार संक्रमण देखिएका ७ जना संक्रमितमध्ये एक जनालाई सेती प्रादेशिक अस्पताल र ६ जनालाई महाकाली अस्पताल लैजाने तयारी भएकोे गौरीगंगा नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले बताइन।
‘कोरोना संक्रमणका लक्षण देखिएकालाई अस्पतालले भर्ना नगरे पछि व्यवस्थापनमा समस्या आएको थियो, अहिले ६ जना संक्रमितलाई महेन्द्रनगर पठाउने र एक जनालाई सेतीमा राख्ने तयारी भइरहेको छ’ उनले भनिन्।
सेती अस्पतालमा आईसाेलेसन कक्ष भरिएकाे र अस्पतालसँग समन्वयनै नगरी बिरामी ल्याइएकाेले समस्या परेकाे अस्पताल स्राेतले जनाएकाे छ।
मंगलबार राति एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्याइएका गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा–४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई भर्ना नै नगरी फर्काइएको थियो। अहिले ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएको छ।
‘हामीले व्यवस्थापन गर्न सकेनौं, यस्तो अवस्थामा प्रदेश सरकारले पनि हेरेन, अस्पतालमा भर्ना नगरिएपछि राति नै यहाँको राधाकृष्ण मन्दिरको सभाहलमा संक्रमितलाई राख्न खोजिएको थियो, तर स्थानीयले विरोध गरेपछि निर्माणाधीन भवनमा राख्न बाध्य भएका थियौँ’ नगर उपप्रमुख चौधरीले भनिन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा क्षमताभन्दा बढी बिरामी रहेको बताए। उनका अनुसार २४ बेड क्षमताको अस्पतालको आइसोलेसनमा अहिले २५ बिरामी छन्। गौरीगंगाका एक संक्रमितलाई सेती अस्पतालमा राख्यो भने क्षमता भन्दा बढी बिरामी हुने देखिन्छ।
यता महेन्द्रनगरको महाकाली अस्पतालको आइसोलेसन कक्ष पनि भरिभराउ छ।
‘सात जनालाई ल्याउने भन्ने कुरा सुनिएको छ, बेलुकासम्म कति आउँछन्’ महाकाली अस्पतालका डा.सरोज आचार्यले भने।
अस्पतालमा कोरोना संक्रमित र यसका शंकास्पद बिरामी राख्न २० र १० बेडका छुट्टाछुट्टै आइसोलेसन छन्। शंकास्पद बिरामी राख्ने आइसोलेसनमा १६ जना राखिएको उनले बताए।
उनका अनुसार संक्रमित राख्ने आइसोलेसनमा भने अहिले ७ जना छन्। गौरीगंगा नगरपालिकाका ६ संक्रमित महाकाली अस्पताल ल्याइए २० जना क्षमताको संक्रमित राख्ने आइसोलेसनमा १३ जना हुने छन्। अझै धेरै पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी तथा कैलाली र कञ्चनपुरका ५०/५० शैयाको कोरोना अस्पताल सञ्चालनमा नआउँदा बिरामी व्यवस्थापनमा समस्या देखिएको छ।
सुदूरपश्चिममा थप पाँच जनामा संक्रमण पुष्टि
सुदूरपश्चिममा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

प्रतिक्रिया