समाज


स्वयंसेवक बनेर क्वारेन्टिनस्थलमै महिलाको सामूहिक बलात्कार गर्ने ३ जनाविरुद्ध म्याद थपिँदै

स्वयंसेवक बनेर क्वारेन्टिनस्थलमै महिलाको सामूहिक बलात्कार गर्ने ३ जनाविरुद्ध म्याद थपिँदै

नेपालखबर
असार १, २०७७ सोमबार ६:१४,

कैलालीको लम्कीचुहा नगरपालिका-१, स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीककुमार विष्टले सोमबार बिहान दिएको जानकारीअनुसार पीडित महिलाको उजुरीका आधारमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, सोही ठाउँका २० वर्षीय लक्ष्मण विक र १८ वर्षका सर्जन विकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको हो।

‘उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भइसकेको छ,’ प्रवक्ता विष्टले नेपालखबरसँग भने, ‘अब आज म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ।’

उजुरीमा पीडितले शनिबार मध्यराति क्वारेन्टिन कक्षमै आएर उनीहरूले सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन्। 

डीएपी विष्टका अनुसार अभियुक्त तीनै जना क्वारेन्टिनस्थलमै खटिएका स्वयंसवेक हुन्। किशोर परियार स्वास्थ्यकर्मीसमेत हुन्। आइतबार दिउँसो पीडितका आफन्तले मौखिक उजुरी गर्नेबित्तिकै उनीहरूलाई पक्राउ गरिएको र पछि लिखित जाहेरी पनि आएको डीएसपी विष्टले बताए।

बलात्कृत महिला ३१ वर्षीया विवाहित हुन्। उनको स्वास्थ्य जाँचसमेत भइसकेको डीएसपी विष्टले जानकारी दिए। त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

‘क्वारेन्टिन स्थलमै उनको बलात्कार के कसरी भयो भन्ने विषयमा अहिले बोल्न मिल्दैन,’ उनले भने, ‘यसबारे हामी अनुसन्धान गरिरहेका छौं।’

घटनापछि ती महिला अहिले क्वारेन्टिन स्थलबाट आफन्तको घरमा गएर बसेकी छन्। उनको आरडीटी परीक्षण नेगेटिभ आएको र पीसीआर परीक्षण भने अहिलेसम्म नभएको डीएसपी विष्टले बताए।

याे पनि: कैलालीमा क्वारेन्टिनमै महिलाको सामूहिक बलात्कार, स्वास्थ्यकर्मीसहित तीन पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .