समाज


पीसीआर परीक्षण बढाउन जनशक्ति पनि अभाव, सरकारसँगै छैन तथ्यांक

पीसीआर परीक्षण बढाउन जनशक्ति पनि अभाव, सरकारसँगै छैन तथ्यांक

सागर न्यौपाने
असार १, २०७७ सोमबार १६:६,

दैलेखबाट २० दिनअघि संकलन गरिएको नमुनाको रिपोर्ट प्राप्त नभएपछि सोमबार १ सय ६८ जनालाई त्यसै घर पठाइएको छ। उनीहरु पहिलो रिपोर्ट पोजिटिभ आएपछि दोस्रो रिपोर्टको पर्खाइमा थिए।

आइसोलेसनमा बसेका उनीहरुको दोस्रो पटक स्वाब संकलन गरेर सुर्खेत प्रादेशिक अस्पतालको ल्याबमा पठाइएको थियो।

तर, २० दिनसम्म पनि रिपोर्ट नआएपछि सोमबार उनीहरुलाई घर पठाउने निर्णय गरिएको दैलेख अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरञ्जन थापाले जानकारी दिए।

रिपोर्ट नआएको विरोधमा आइसोलेसनमा बसेका युवाहरुले आइतबार प्रदर्शन समेत गरे।

‘रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गरेर युवाहरुले प्रदर्शन गर्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो त्यही बेला झडप समेत भयो,’ नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताए।

केन्द्रले दिएको निर्देशनलाई पालना गरेर कुनै लक्षण नदेखिएका उनीहरुलाई घर पठाउने जोखिम मोलिएको मेयर खड्काको भनाइ छ।

‘केन्द्र सरकारले १४ दिन क्वारेन्टिन राखेका, कुनै लक्षण नदेखिएकालाई कुनै परीक्षण नगरी घर पठाउन निर्देशन दियो,’ उनले नेपालखबरसँग भने, ‘हामीले १९ दिनसम्म राख्यौं अब उनीहरुलाई आजै घर पठाउँदैछौं।’

सुर्खेत प्रादेशिक अस्पतालको ल्याबमा स्वाब थुप्रिएर बसेको छ। जनशक्ति र मेसिनको अभावका कारण परीक्षणमा ढिलाइ भइरहेको अस्पतालका एक डाक्टरले जानकारी दिए।

१० दिनदेखि कर्णालीका विभिन्न जिल्लामा संकलन भएका स्वाब थुप्रिएको तर, मेसिनको क्षमता दैनिक एक सय पनि नभएको उनले बताए।

‘अहिलेको मेसिनमा अहिलेको जनशक्तिले काम गर्ने हो भने यहाँ संकलन भएका स्वाबको सबै रिपोर्ट आउन २० दिनदेखि १ महिना लाग्ने देखिन्छ,’ ती डाक्टरले भने, ‘२४ सै घण्टा काम गर्न जनशक्ति छैन, फेरि १२ घण्टा बढी यो मेसिनले लगातार काम गर्न सक्दैन, मिल्दैन।’

सुर्खेतको ल्याबमा चाप बढेपछि केही नमुना काठमाडौँ पठाइएको छ।

कर्णालीमा मात्र होइन, अन्यत्र पनि यही स्थिति छ। सुदुरपश्चिम प्रदेशमा भाइरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) सकिएपछि स्वाब संकलन नै बन्द गरिएको सेती अञ्चल अस्पतालका एक डाक्टरले जानकारी दिए।

‘भीटीएम सकिएपछि हामीले ३ दिनदेखि नयाँ स्वाब कलेक्सन रोकेका छौं, ती डाक्टरले भने, ‘संकलन भएको स्वावको परीक्षण पनि ढिलाइ भएको छ।’

सरकारले परीक्षणका लागि आवश्यक मेसिन जुटनाउन नसकेपछि जिल्लाहरुले आआफ्नै पीसीआर मेसिन किन्ने तयारी थालेका छन्। दैलेखमा आफ्नै मेसिन किन्न एक करोड ८ लाख रुपैयाँ छुट्याएर खरिद प्रक्रिया सुरु गरिएको मेयर खड्काले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम आरएनए एक्स्ट्रयाक्सन मेसिन नहुँदा परीक्षणमा ढिलाइ भएको स्वीकार गर्छन्।

‘हामीले एकएक गरेर आरएनए छुट्याउनु परेको छ, अटोमेटिक मेसिन नहुँदा यसमा ढिलाइ भयो र पीसीआर परीक्षण पनि ढिलो भयो,’ डा. गौतमले भने।

मेसिन मात्र होइन, आवश्यक जनशक्ति पनि नभएकाले यो ढिलाइ भएको डाक्टरहरु बताउँछन्।

सरकारसँग तथ्यांक छैन
संसदमा बजेट विनियोजनमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर परीक्षण गरिने बताएका थिए।

तर, त्यसका लागि आवश्यक जनशक्ति सरकारसँग छ कि छैन, त्यसको तथ्यांकसमेत सरकारसँग छैन।

सरकार मातहत रहेको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको तथ्यांक संकलन गर्ने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले पीसीआर परीक्षण गर्ने कति जनशक्ति छन् भन्नेबारे तथ्यांक संकलनको काम भइरहेको बताए।

‘पीसीआर परीक्षण नै गर्ने ठ्याक्कै कति जना जनशक्ति छ भन्ने तथ्यांक छैन,’ खनालले नेपालखबरसँग भने, ‘यस्तो बेलामा संख्या मात्रै भनेर हुँदैन, तयारी अवस्थामा राख्नुपर्छ, अहिलेसम्म भएका जनशक्तिमध्ये थुप्रै देशबाहिर पनि जानुभएको सूचना छ।’

उनले तथ्यांक नभएपनि पीसीआर परीक्षण गर्ने जनशक्तिको अभाव नभएको दाबी गरे।

‘हामीलाई दक्ष जनशक्तिको खाँचो पर्दैन,’ खनालले भने, ‘आवश्यक परेको जिल्लामा पुगेर तालिम दिएर काम गराइराखेका छौं।’

यद्यपि,जनशक्ति नभएकै कारण नारायणी अञ्चल अस्पताल पर्सा र जनकपुरमा क्षमता अनुसार परीक्षण हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले २ सय हाराहारीका पीसीआर परीक्षण गर्न सक्षम प्राविधिक रहेको बताए।

‘केही जनशक्ति र मेसिनको अभाव छ, मिल्यो भने परीक्षण ३ ठाउँमा थप गर्ने तयारी गरेका छौं,’ प्रा.डा. गौतमले भने, ‘एक सिफ्ट चलेको ठाउँमा २ र २ सिफ्ट चलेको ठाउँमा ३ सिफ्ट बनाई जनशक्ति थप गर्ने तयारी गर्दैछौं।’

एक पटकमा ल्याबमा पीसीआर परीक्षण गर्न ६ जना चाहिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशक प्रा.डा. विष्णु शर्मा बताउँछन्।

‘सबै प्रक्रिया मिलाएर पीसीआर परीक्षण गर्न ल्याबमा पुर्‍याएपछि पनि कम्तीमा ६ जना जनशक्ति चाहिन्छ,’ उनले भने, ‘त्यसमा पनि दुई जना सिनियर चाहिन्छ।’

अहिले मुलुकभर २१ पीसीआर मेसिन सञ्चालनमा छ। प्रा.डा. शर्माको भनाइलाई आधार मान्दा तीन सिफ्टमा एउटा मेसिन सञ्चालनका लागि १८ जना चाहिने हुँदै सबै मेसिन सञ्चालनका लागि ३ सय ७८ जना जनशक्ति आवश्यक पर्छ।

प्रवक्ता गौतमले केही प्राविधिकलाई तालिम दिएर पनि परीक्षणलाई तीव्रता दिने तयारी भएको बताए।

तर, कोरोना परीक्षणमा जनशक्ति नै मुख्य बाधक नभएको रसायनशास्त्री डा.निराजन पराजुली बताउँछन्। रियल टाइम पीसीआर मेसिन नयाँ किन्नुभन्दा आरएनए एक्स्ट्रयाक्सन मेसिन किन्नु उपयुक्त हुने उनको भनाइ छ।

‘एमएस्सी माइक्रोबायोलोजी र बायोटेक्नोलोजी पढेका करिब ५ सय जना देशमा कामविहीन अवस्थामा छन्,’ डा. पराजुलीले भने, ‘पीसीआर परीक्षणका लागि उनीहरुलाई प्रयोग गर्नसक्ने भएपनि सरकारले चासो दिएको छैन, समस्या यही छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad