समाज


उपत्यकामा एक हप्तामै चार गुणाले बढे कोरोना संक्रमित

उपत्यकामा एक हप्तामै चार गुणाले बढे कोरोना संक्रमित

यज्ञराज जोशी
असार १८, २०७७ बिहिबार १२:१२,

ट्राभल हिस्ट्री नभएकासहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तामा उपत्यकामा संक्रमित संख्या चार गुणाले बढेको छ।

गत असार ११ गते उपत्यकामा संक्रमितको संख्या ३९ मात्रै थियो। त्यसको ७ दिनपछि बिहीबार उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या १ सय ५८ पुगेको छ।

जेठ १० गते ३० जना मात्रै संक्रमित देखिएको काठमाडौं जिल्लामा एक सातापछि संक्रमितको संख्या १ सय ९ पुगेको छ। यस्तै बिहीबारसम्म ललितपुरमा १७ र भक्तपुरमा २८ जनामा संक्रमण भेटिइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले लकडाउन खुकुलो भएसँगै मानिसमा कोरोना सर्ने डर हराउँदै गएको र जनजीवन सामान्य बन्दै गएको महसुस भएको हो कि भन्ने चिन्ता बढेको बताए।

‘संक्रमण बढ्दै गएको छ। सबैले लकडाउन खुलेको महसुस गरेझैँ देखिन्छ। सडकमा मानिस र गाडीको भिडभाड बढी देखिएको छ। बजारमा अनावश्यक भिडभाड गरेको देखिएको छ यसले खतरा बढाउन सक्छ,’ उनले भने।

जेठ अन्तिम साताबाट सरकारले लकडाउन खुकुलो पारेसँगै उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको हो। तीमध्ये अधिकांश उपत्यकाबाहिरबाट आएकाहरु रहेको मन्त्रालयको दाबी छ।

‘अहिलेसम्म धेरैजसो बाहिरबाट आएका र उनीहरुको सम्पर्कमै रहेकाहरुमा संक्रमण देखिएको छ,’ गौतमले भने, ‘तर पछिल्लो समय केही ट्राभल हिस्ट्री बिनाका केसहरु देखिएका छन। त्यसले हामीपनि खतरापूर्ण अवस्थामै छौं भन्न मिल्छ।’

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्ने (कन्ट्याक्ट ट्रेसिङ) गर्ने जिम्मेवारी पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार थपिएका १७ जना र बिहीबार थपिएका ३२ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न भ्याइसकेको छैन।

तर, मंगलबारसम्मको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनाको ट्राभल हिस्ट्री नभेटिएको सर्भिलेन्स शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज श्रेष्ठले बताए।

‘काठमाडौं उपत्यकामा भेटिएका अधिकांश आयातित केस हुन्। तर, ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ,’ श्रेष्ठले भने, ‘मंगलबारसम्मका संक्रमितमा १२ जनामा ट्राभल हिस्ट्री देखिएको छैन। बाँकी भने बाहिरबाट आएका र उनीहरुसँग सम्पर्कमा आएकाहरुमा संक्रमण देखिएको छ।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकाका बुढानीलकण्ठ, टीकाथली, तीनकुने, गौशाला, कालोपुल, सोह्रखुट्टे, चन्द्रागिरी, कमलविनायक, टोखा, सिनामंगल, टेकु, नख्खु, खुसिबु, बालाजु, ठमेल, बालुवाटार, जोरपाटी, कपन, नयाँ बानेश्वर, जोरपाटी तथा गोकर्णेश्वर लगायत क्षेत्रका व्यक्तिहरुमा संक्रमण देखिसकेको छ।

जनस्वास्थ्य विज्ञहरु भने उपत्यकामा कोरोना संक्रमितहरु अझै बढी हुनसक्ने अनुमान गर्छन्। संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदीले जनस्तरमा अझै परीक्षण नभएकाले संक्रमितको संख्या एकिन नभएको बताए।

‘विश्वमा जहाँ पनि जति संख्यामा पुष्टि भए त्यसस्थानमा त्योभन्दा बढी संक्रमित छन् भन्ने पुष्टि भएका छन्,’ उनले भने, ‘उपत्यकामा निश्चितमात्रै परीक्षण छ। तर, यहाँ मान्छेको मृत्यु नै भइसक्यो। ट्राभल हिस्ट्रीबिना नै मान्छेमा संक्रमण देखिनुले यहाँ संक्रमित अझै छन् भन्ने अनुमान लाउन सकिन्छ।’

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा बाहिरबाट आएकाहरु, कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएकाहरु र लक्षण देखिएकाहरुलाई मात्रै परीक्षण गर्ने गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले मास्क लगाउने, बाहिर निस्कँदा दुई मिटरको दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा मात्रै ध्यान दिने हो भने धेरै हदसम्म कोरोनाभाइरसको संक्रमण रोक्न सकिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .