समाज


गोरखामा कोरोना संक्रमितको मृत्युः काठमाडौंबाट उनी चढेको माइक्रोमा अरू को-को थिए?

गोरखामा कोरोना संक्रमितको मृत्युः काठमाडौंबाट उनी चढेको माइक्रोमा अरू को-को थिए?

नेपालखबर
असार २०, २०७७ शनिबार ४:४,

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित पुष्पराज कुमाल, जसको आज (शनिबार) बिहानै गोरखा जिल्ला अस्पतालमा मृत्यु भयो, उनी भर्खरै कतारबाट फर्किएका थिए।

पालुङटार नगरपालिकाको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार ४४ वर्षीय कुमाल कतारबाट उद्धार उडानमार्फत यही असार १७ गते बिहान ७/सवा ७ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।

उनका अनुसार यसरी विदेशबाट ल्याइएका नेपालीलाई सरकारले समूह–समूह बनाएर उनीहरूको स्थायी ठेगानाको निश्चित स्थानसम्म माइक्रोजस्ता सवारीसाधनमा पुर्‍याइदिने गरेको रहेछ।

यसै क्रममा उनलाई पनि सरकारले व्यवस्था गरेको एउटा माइक्रोमा पोखरातर्फै जाने विदेशबाट फर्किएका अन्य नेपालीको समूहमा डुम्रेसम्म लगिएको थियो।

‘तपाईंको नगरपालिकाको मान्छेलाई फलानो ठाउँसम्म पुर्‍याइएकाे छ, त्यहाँबाट तपाईंहरूले लानुहोला भन्ने सूचना आयो,’ नगर स्वास्थ्य प्रमुख अधिकारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘उहाँलाई माइक्रोमा डुम्रेसम्म ल्याइएपछि प्रहरीले जिम्मा लियो र हामीलाई खबर भयो।’

त्यसपछि त्यहाँबाट आफूहरूले उनलाई गाडीमा राखेर सीधै पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित उनकै घरनजिक बनाइएको क्वारेन्टिनमा राखिएको उनले बताए।

‘उहाँ खोकिरहनुहुन्थ्यो, छाती तथा जिउ दुख्यो पनि भन्नुहुन्थ्यो, अनि उहाँलाई सुगर पनि रहेछ,’ स्वास्थ्य प्रमुख अधिकारीले भने, ‘शंका लागेर हामीले एकदमै चाँडो-चाँडो पीसआर परीक्षण गरेर आइसोलेसनमा राख्याैँ।’

उनका अनुसार असार १८ गते नै उनको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा इमरजेन्सी परीक्षणका लागि पठाइएको थियो। ‘त्यसको रिपोर्ट १९ गते दिउँसो आयो पोजिटिभ, त्यसपछि हतार हतार हिजै राति ९ बजे जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा पुर्‍यायौं,’ उनले भने, ‘तर आज बिहानै यस्तो (मृत्यु) घटना भयो।’

चिन्ताको कुरा त के हो भने उनी जुन माइक्रोमा गएका थिए, त्यसमा विदेशबाट फर्किएका अन्य व्यक्ति कम्तीमा १०–१२ जना पक्कै रहेको स्वास्थ्य प्रमुख अधिकारी बताउँछन्। तर आफूलाई उनी चढेको त्यो माइक्रोमा कहाँ कहाँका कति जना थिए भन्ने एकिन जानकारी नभएको अधिकारीकाे भनाइ छ।

‘ग्रुपमा माइक्रो चढाएर पठाइएको हो,’ उनले भने, ‘तर कहाँका कति जना थिए भन्ने एकिन जानकारीचाहिँ मलाई भएन।’ 

याे पनि: कोरोनाबाट थप एक जनाको मृत्यु, गोरखाका उनी भर्खरै कतारबाट आएका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad