बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ।
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये शनिबार मध्यान्हसम्म ३ जनाको शव भेटिएको गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख घनराज जोशीले जानकारी दिए।
‘अहिलेसम्म तीन जनाको शव भेटिएको छ’, नेपालखबरसँग कुरा गर्दै जोशीले भने, ‘अझ,ै ७ जना बेपत्ता हुनुहुन्छ।’ मृतकहरुको शनाखत भइनसकेको उनले जानकारी दिए।

उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ। घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ। त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो। सो सडक पनि पहिरोले बगाएको छ।
पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए। उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन। वडाध्यक्ष बोहराका अनुसार स्थानीय आफैँ उद्धार गरिरहेका छन्।
उता जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे बताए। प्रजिअ पाण्डेका अनुसार खोलैखोलाको बाटो हुँदै मल्लेसी जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो।
घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए नभएको यकिन गरेपछि मात्रै उडानका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।
पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन्।उद्धार टोली त्यहाँ पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए।
पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए।
‘ठूलो क्षति भएको जानकारी आएको छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डीएसपी बमले नेपालखबरसँग भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।’
घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको जानकारी उनले दिए।
‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलतिर जाँदैछन्।’
घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएको थियो।

प्रतिक्रिया