समाज


मेलम्ची दुर्घटना : इन्जिनियर नातिले सुनाएका सपना सम्झेर बेलाबेला भक्कानिन्छन् हजुरबुबा

मेलम्ची दुर्घटना : इन्जिनियर नातिले सुनाएका सपना सम्झेर बेलाबेला भक्कानिन्छन् हजुरबुबा

शैलेन्द्र महतो
साउन २, २०७७ शुक्रबार ३:३२,

‘हामीलाई छाडेर कहाँ गयौ मेराे बाबु? मेरो प्यारो राजा बेटा! इन्जिनियर बनेर बिहे गर्छु भन्थ्यौ। सबलाई सुख दिन्छु भन्थ्यौ। तर बीचमै छाडेर गयौ। अब हामीले कसरी बाँच्ने दुलरुवा छोरा!’

छोरा सतीशको अन्त्येष्टि गरेर फर्केकी आमा मञ्जु बिहीबार दिउँसो जनकपुरस्थित घरको कोठामा रुँदै कराउँदै बिलौना गर्दै थिइन्। तीन दिनको रुवाई र विलापले उनको गला अवरुद्ध हुन थालेको छ। उनी रुन पनि नसक्ने अवस्थामा पुगेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका ४ कदमचोकस्थित सतीशको घरमा शोकाकुल परिवारलाई समवेदना प्रकट गर्न आएका आफन्त तथा छिमेकी महिलाहरु मञ्जुलाई सम्झाइ बुझाई शान्त गर्ने जमर्को गर्दैंछन्।

छोराको शोकमा डुबेका बुबा अमरकिशोर गोइत पल्लो कोठाको ओछ्यानमा रुदारुदा थाकेपछि निदाउने प्रयास गरिरहेका थिए। त्यहि कोठाकै अर्को ओछ्यानमा नाति सतीशको किरिया बसेका ७४ वर्षे हजुरबुबा कृष्णवीर पुर्पुरोमा हात राखेर शोकमा डुबेका छन्।

घरका सदस्य, आफन्तजन, छरछिमेक लगायत सबै शोकामा डुब्नुको एउटै कारण हो- सानैदेखि प्यारले स्यहार्दै दुःख सुख गरी पढाएर इन्जिनियर बनाएका छोरा सतीशलाई २५ वर्षकै उमेरमा गुमाउनु।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गएको मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फुट्दा २५ वर्षीय सतीश गोइतसहित दुईजना बेपत्ता भएका थिए। उनीसँगै गाडीचालक राधाकृष्ण थापा समेत बेपत्ता भएका थिए।

खोजविनको क्रममा सतीशको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै फेला परेको थियो। थापा अझै भेटिएका छैनन्।

सतीशको शवलाई जनकपुर ल्याएर बिहीबार जनकपुरधामस्थित स्वर्गद्वारी स्मशानघाटमा अन्त्येष्टि गरिएको छ।

बुबा अमरकिशोरका अनुसार सतीश झण्डै एकवर्षदेखि मेलम्ची खानेपानी आयोजनामा कार्यरत् थिए । सतीश बेपत्ता भएको खबर मंगलबार दिउँसो सबभन्दा पहिले उनका मामा बिबेक यादवलाई गएको थियो।

मामा बिबेकले नै सतीशको घरपरिवारमा उनी मेलम्ची खानेपानीमा बेपत्ता भएको खबर गरेका थिए। खबर पाएदेखि नै परिवारका सबै सदस्य निकै चिन्तित र हतास छन्।

प्रहरी प्रशासनले वेपत्ता नातिको खोजीमा ढिलाई गरेको हजुरबुबा कृष्णवीरको गुनासो छ।

‘तुरन्तै खोजविन र उद्धार भएको भए मेरो नाति आज जीवित हुन्थ्यो। सरकारले खासै चासो देखाएन,’ हजुरबुबा कृष्णवीरले दुखेसो पोख्दै भने, ‘आज मर्ने उमेरमा नातीको किरिया बस्नु पर्यो।’

प्रहरीले सतीशको खोजविनमा ढिलाइ गरेको कुरा थाहा हुने बितिकै हजुरबुबा कृष्णवीरले नातिको खोजविन, उद्धारमा पहल सहयोग गरिदिन प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र जनता समाजवादी पार्टीका धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियालाई गुहारेका थिए।

पछि सतीशको शव नै फेला परेपछि उनको परिवार र आफन्त शोकमा डुबेका छन्। खोजविन तथा उद्धारमा नेपाल प्रहरीको ढिलाई र वेवास्ताको कारण भान्जा सतीश गुमाउनु परेको मामा बिबेकको समेत दुखेसो छ।

‘घटनाको ५ मिनेटपछि नै मलाई खबर आयो। सतीश बेपत्ता भयो भनेर तर प्रहरीहरुले समयमा खोजविन गरेनन्। जसको परिणाम आज भान्जा गुमाउनु पर्यो,’ मामा विवेकले भने।

सोमबार भएको थियो अन्तिम कुराकानी
सतीशले सोमबार बिहान घरपरिवारका सदस्यहरुसंग एकघण्टा लामो कुराकानी गरेका थिए।

‘समयमा खाना खानुहोला, औषधि खानुहोला, आराम गर्नुहोला। सबैजना ठीकसँग बस्नुहोला। म यहाँ ठीकठाक छु। तपाइँहरुलाई केहि समस्या भए मलाई तुरन्त फोन गर्नुहोला।’

नाति सतीशले अन्तिम कुराकानीमा भनेका कुराहरु सम्झिँदै हजुरवा कृष्णवीर स्तब्ध हुन्छन्। उनी भन्छन्, ‘अब त संसार उजाडिए जस्तै भएको छ। यसको दोषी सरकार हो।’

त्यसअघि गएको शुक्रबार राति उनले भिडियोकलमा परिवारका सबैसँग कुराकानी गरेका थिए। गएको फागुनमा घर आएका उनले खुसीसाथ होली मनाएका थिए। चैत २ गते काममा फर्किएका उनी त्यसयता घर फर्केका थिएनन्। होली पर्वको प्रत्यक्ष भेट नै घरका अधिकांश सदस्य र आफन्तजनको लागि सतीशसँगको अन्तिम भेट बन्यो।

पढाईमा अब्बल थिए सतीश
हजुरबुबा कृष्णवीरका अनुसार सतीश बाल्यकालदेखि नै पढाईमा अब्बल थिए। एसएलसीसम्म उनले जनकपुरको मोनास्टिक स्कुलमा पढेका थिए। उनले एसएलसीमा डिक्सटिंशन नम्बर ल्याए। जनकपुरकै मीट क्याम्पसमा साइन्स विषय लिएर उनले प्लस टु गरे। सतीशले प्लस टुमा पनि उत्कृट अंक ल्याएको हजुरबुबा कृष्णवीरको भनाइ छ।

110162794 713829186066033 4552272377367685309 n

प्लसटु पास गरी सतीश इन्जिनियरिङ पढ्न भारत गए। बेङलौरस्थित इन्गोलोवर इन्जिनियरिंङ कलेज, चण्डीगढबाट सिभिल इन्जिनियरिंङ उत्तिर्ण गरे। इन्जिनियरिंङको पढाई सकेर करिब दुईवर्ष अघि मात्र उनी घर फर्केका थिए। घर आएपछि उनी अब कमाउनु पर्छ भन्दै आफ्ना शैक्षिक प्रमाणपत्रहरु बोकेर बरालिएका थिए।

काठमाडौंमा निजी क्षेत्रका कम्पनीहरुमा झण्डै ८ महिना उनले काम गरे। पछि मेलम्ची खानेपानी आयोजनामा कर्मचारीको लागि भ्याकेन्सी निस्किँदा सतीशले पनि आवेदन दिए। परीक्षामा उनी राम्रो अंक ल्याएर पास भएका थिए।

हजुरबुबा कृष्णवीर भन्छन्, ‘मेलम्ची आयोजनामा काम गर्न थालेपछि उनको कामको उनका साथीहरु प्रशंसा गर्थे। गर्वले छाती उचो हुन्थ्यो। तर आज त्यही नाति गुमाउँदाको पीडा कसरी पोखुँ?’

सतीश पढाई लेखाईमा सानैदेखि जाँगरिलो र उत्कृष्ट हुनुको कारण थियो हजुरबुबा र बुबा अमरकिशोरको साथ। हजुरबुबा कृष्णवीर शिक्षक पेशाबाट अवकाश प्राप्त भएको झण्डै १५ वर्ष भएको छ भने बुबा अमरकिशोर अझै पनि जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सरस्वती उच्च माविमा शिक्षण पेशामै कार्यरत्त छन्।

बुबा र हजुरबुबा दुबै शिक्षक भएका कारण सतीशलाई पढाइमा ठूलो साथ सहयोग मिलेको थियो। हजुरबुबा कृष्णवीरले भने ऋण लिएर नातीलाई ईन्जिनियर पढाएका थिए।

‘नाति भन्थ्यो बाबा तपाई ऋणको चिन्ता नलिनुस् । म चुक्ता गर्छु। तपाईहरुको सबै मनोकांक्षा पुरा गर्छु,’ कृष्णवीर नातिले विगतमा भनेका कुरा सम्झिँदै भक्कान्छिन्।

अधुरै रह्याे विवाहकाे सपना
बुबा अमरकिशोरका अनुसार सतीशको विवाहका लागि इंगेजमेन्ट समेत भइसकेको थियो।

तर, परिवारका अन्य सदस्यले भने इंगेजमेन्ट भएको कुरा अस्वीकार गर्दै विवाहको कुरा पनि टुंगिन बाँकी नै रहेको बताए।

हजुरबुबा कृष्णवीरका अनुसार सतीश नयाँ र राम्रा लुगा लगाउन मन गर्थे।

‘सतीश राम्रो-राम्रो लुगा लगाउन निकै सौखिन थियो। सानैदेखि नातीको इच्छा मैले पूरा गर्दै आएको थिएँ,’ उनले भने, ‘अब तपाईहरु पनि राम्रो लुगा लगाउनुस्। म किनेर ल्यादिन्छु, भन्थ्यो। कहिल्यै नफर्किने गरी गयो।’

घरको ठूलो जिम्मेबारी बोक्नै लागेका सतीशको मृत्युले आफन्तलाई ठूलो पीडा भएको छ। चार छोराछोरी मध्येका एक सतीश दुई दाजुभाइमध्ये कान्छो हुन्। दाइ आतिश प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका सवारीचालक छन्। दुई दिदी बहिनीको विवाह भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad