पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ।
जसले गर्दा त्यहाँको बस्ती नै विस्थापित भएको वडाध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए।
‘यहाँ जम्मा १६ घर छ, सबै पहिरोको जोखिममा परेका छन्,’ वडाध्यक्ष शेर्पाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यही भएर यहाँका सबै परिवारलाई धमाधम सुरक्षित ठाउँमा सारिरहेका छौं।’
उनका अनुसार बिहीरबार राति गएको पहिरोले थप दुई घर क्षतिग्रस्त बनाएको छ भने यसअघि बुधबार राति गएको पहिरोले आंशिक क्षति गरेको स्थानीय सेतीदेवी आधारभूत विद्यालयको भवन पूरै पुरेको छ।
‘विद्यालयका तीनवटै भवनमा क्षति पुगेको छ,’ उनले भने।
उनका अनुसार बिहीबार रातिको पहिरोले घर क्षति गरे पनि त्यस घरका परिवारलाई हिजै सुरक्षित ठाउँमा लगिएकाले मानिसलाई भने केही हुन पाएन।
‘हामीले ६–७ परिवारलाई डाडागाउँ स्वास्थ्य चौकीको नवनिर्मित भवनमा हिजै सारिसकेका छौं,’ उनले भने, ‘अन्यलाई आज सार्दैछौं।’
वडाध्यक्ष शेर्पाका अनुसार १६ परिवारमध्ये एक–दुई परिवार काठमाडौं जाने भएका छन् भने दुई–तीन परिवार आफन्तकोमा जाने र बाँकीलाई डाँडागाउँ स्वास्थ्य चौकीको भवनमा राखिने उनले जानकारी दिए।
उनका अनुसार बुधबार रातिको पहिरोमा बेपत्ता ३ जना अझै फेला परेका छैनन्। पहिरो थपिएकाले अहिले बिहान नेपाली सेनासहित जेसीबी मेसिन झिकाएर खोजी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
सुधीर न्यौपानेको फेसबुकबाट घटनास्थलकाे याे भिडयाे-
याे पनि:

प्रतिक्रिया