स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भइरस (कोभिड—१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताए। मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन।
निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो।
यस्तै पर्साको वीरगन्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ। मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए। पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ। साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए।
झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए। त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालमा ५ हजार २ सय २७ संक्रमित उपचाररत रहेका छन्। बिहीबार २ सय २७ जना डिस्चार्ज भएसँगै आजसम्म १४ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन्। बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन्। आजसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन्।

प्रतिक्रिया